काठमाडौ,१९ असार । कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुहरूको खोजी कार्य दोस्रो दिन पनि जारी रहेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना तालिमप्राप्त गोताखोर शुक्रबार बिहान ८ बजेदेखि पुनः नदीमा परिचालित भएका छन्।
बिहीबार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेर बेपत्ता भएको थियो।
दुर्घटनापछि बिहीबार करिब पाँच घण्टासम्म गोताखोर टोलीले खोजी गरे पनि गाडी र यात्रुहरूको अवस्था पत्ता लाग्न सकेन। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार वर्षाका कारण नदीको जलसतह बढ्नु, तीव्र बहाव र धमिलो पानीका कारण खोजी कार्य निकै कठिन बनेको छ।
घटनास्थल भिरालो र जोखिमयुक्त भएकाले उद्धार टोलीले अछामतर्फको सिमानाबाट नदीमा प्रवेश गरेर खोजी गरिरहेको छ।
दुर्घटनामा भिरमा अचेत अवस्थामा भेटिएका एक पुरुषको जीवितै उद्धार गरी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको पहिचान अझै खुल्न सकेको छैन।
प्रहरीका अनुसार गाडी सुर्खेत बसपार्कबाट तीन यात्रु बोकेर छुटेको थियो भने दैलेखको डुङ्गेश्वरबाट थप दुई जना चढेका थिए। चालक र सहचालकसहित गाडीमा कम्तीमा सात जना सवार रहेको पुष्टि भएको छ।
बेपत्ता यात्रु र गाडीको खोजीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा निरन्तर खटिएको छ।




