बीरगन्ज,१९ असार । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर बीरगन्ज सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका नवनियुक्त प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठसँग परिचयात्मक तथा स्वागत कार्यक्रम आयोजना गरेको छ।
केन्द्रका अध्यक्ष जयप्रकाश खेताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हालै सरुवा भएर पर्सा ट्राफिक प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक श्रेष्ठलाई स्वागत गर्दै परिचय गराइएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा रुगटा वेलफेयर सोसाइटीका अध्यक्ष तथा ग्रीनसिटी सामुदायिक प्रहरीका सल्लाहकार सुरेश रुगटा सहभागी थिए।
कार्यक्रममा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण तथा सामुदायिक प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। सहभागीहरूले ट्राफिक अनुशासन कायम गर्न प्रहरी र नागरिकबीचको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए।
सो अवसरमा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, सदस्य, समाजसेवी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खेताले समुदाय र प्रहरीबीचको समन्वयले सुरक्षित, व्यवस्थित र अनुशासित समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले यस्ता साझेदारीमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।
नवनियुक्त ट्राफिक प्रमुख प्रहरी निरीक्षक श्रेष्ठले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन स्थानीय समुदाय, विभिन्न संघसंस्था तथा नागरिकसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।




