बीरगन्ज,१९ असार । बाराको पचरौता नगरपालिका–८ बाझोपट्टीस्थित माई मन्दिरमा ग्रिल जडान गर्ने क्रममा ११ हजार भोल्ट क्षमताको विद्युत् प्रसारण लाइनको तार छोएपछि एक कामदार घाइते भएका छन्।
बिहीबार बिहान करिब १० बजे ग्रिल जडान गरिरहेका सिम्रौनगढ नगरपालिका–३ नयकाटोल निवासी ३८ वर्षीय रामलाल पटेललाई काम गर्ने क्रममा माथिबाट गएको उच्च भोल्टेजको तार टाउकोमा छोएपछि करेन्ट लागेको प्रहरीले जनाएको छ।
घाइते पटेललाई तत्काल प्रादेशिक अस्पताल कलैयामा पुर्याई प्राथमिक उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि उनलाई वीरगञ्जस्थित अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। हाल उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको छ।
घटनाको जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट लंगडाचौकबाट प्रहरी सहायक निरीक्षक थिरबहादुर बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




