काठमाडौं,१९ असार । आकर्षक तलबमा न्यूजिल्याण्ड पठाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतीय नागरिक सञ्जयकुमार रहेका छन्। उनले वैदेशिक रोजगारीका लागि न्यूजिल्याण्ड पठाइदिने आश्वासन दिई एक बेरोजगार व्यक्तिबाट ९ लाख ८० हजार रुपैयाँ लिएको, तर त्यसपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान अघि बढाउँदै सञ्जयकुमारलाई गत बुधबार काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ परेका सञ्जयकुमारलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।




