काठमाडौँ,१९ असार । स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १६ रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ। शुक्रबार जारी गरिएको सूचनामार्फत बोर्डले हालसम्म उक्त रकम भुक्तानी गरिसकेको जानकारी दिएको हो।
बोर्डका अनुसार यससँगै २०८२ साल मङ्सिर मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले पेश गरेका सम्पूर्ण दाबी रकमको बक्यौता फरफारक भएको छ।
बोर्डले सीमित स्रोत–साधन र संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बिमा कार्यक्रममार्फत नागरिकको उपचार खर्च घटाउन तथा स्वास्थ्यसम्बन्धी वित्तीय जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाएको छ।
यद्यपि, दिगो वित्तीय स्रोत र प्रभावकारी वित्तीय संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा केही अवधिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न नसकिएको बोर्डले स्वीकार गरेको छ। यसबाट स्वास्थ्य संस्था तथा बिमित सेवाग्राहीले भोग्नुपरेको असहज अवस्थाबारे बोर्ड जानकार रहेको पनि सूचनामा उल्लेख गरिएको छ।
मङ्सिरपछि प्राप्त भएका दाबीहरूको भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ।
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बिमित नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने गरी तोकिएको मापदण्डअनुसार गुणस्तरीय स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउन आग्रह गरेको छ।
साथै, बिमित सेवाग्राहीलाई स्वास्थ्य बिमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन अपिल गरेको छ। स्वास्थ्य बिमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको बोर्डले जनाएको छ।




