spot_img

११ जिल्लाका बर्डफ्लु प्रभावित किसानले पाउने भए ७५ प्रतिशतसम्म क्षतिपूर्ति

spot_img
spot_img

काठमाडौं,१९ असार । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति वितरण गर्न पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ।

बर्डफ्लु पुष्टि भएका ११ जिल्लाका किसानलाई राहत उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले रकमान्तर गरी उक्त रकम विभागलाई उपलब्ध गराएको हो। बर्डफ्लुका कारण ठूलो आर्थिक क्षति बेहोरेका किसानलाई क्षतिपूर्ति वितरणका लागि विभागले मन्त्रालयसँग बजेट माग गरेको थियो।

पशुसेवा विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार प्रमाणित क्षतिको आधारमा किसानलाई भएको नोक्सानीको अधिकतम ७५ प्रतिशतसम्म क्षतिपूर्ति प्रदान गरिनेछ।

विभागका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा हालसम्म करिब सात लाख पन्छी, ११ लाख अण्डा तथा तीन लाख किलोग्राम दाना नष्ट गरिएको छ। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४ अनुसार नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित किसानलाई क्षतिको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था रहेको छ।

गत चैतदेखि पूर्वी नेपालबाट फैलिन सुरु भएको बर्डफ्लु संक्रमण हाल ११ जिल्लामा फैलिसकेको छ। भाइरसको जोखिम नियन्त्रण गर्न प्रभावित क्षेत्रमा पन्छी, अण्डा र दाना नष्ट गर्ने कार्य जारी रहेको विभागले जनाएको छ।
रोग नियन्त्रणलाई प्रभावकारी बनाउन विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु नियन्त्रण कक्ष स्थापना गरिएको छ भने संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर संक्रमण नियन्त्रणका प्रयासलाई तीव्र बनाइएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय