बीरगन्ज,१९ असार । बीरगन्जस्थित यातायात व्यवस्था कार्यालय नजिक रहेको टीभीएस मोटरसाइकल कम्पनीको कार्यालयमा प्रहरीले शुक्रबार छापा मारेको छ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा खटिएको टोलीले शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा कार्यालयमा छापा मारेको हो।
छापाका क्रममा प्रहरीले कार्यालयबाट एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। साथै, अनुसन्धानका लागि आवश्यक केही कागजातसमेत नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक मगरले जानकारी दिए।
उनका अनुसार नियन्त्रणमा लिइएका कर्मचारी र बरामद कागजातलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउने तयारी भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।




