बीरगन्ज,१९ असार । बीरगन्ज महानगरपालिका–८ मा स्थापना गरिएको गहवा बाल उद्यान तथा शिशु स्याहार केन्द्र औपचारिक रूपमा वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोग तथा नेपाल उद्योग वाणिज्य महासंघमार्फत सञ्चालित ‘समृद्ध महिला, सुखी नेपाल’ (ईडब्लुपीएन) कार्यक्रमअन्तर्गत स्थापना गरिएको उक्त केन्द्र शुक्रबार आयोजित कार्यक्रममा वडा कार्यालयलाई हस्तान्तरण गरिएको हो।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगार समितिका सभापति प्रबलजंग पाण्डेले वडा नं. ८ का अध्यक्ष रितेश कुमार गुप्तालाई केन्द्र सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पाण्डेले महिलाको श्रम बजारमा सहभागिता बढाउने र पारिवारिक जिम्मेवारीसँगै रोजगारीलाई सहज बनाउने उद्देश्यले शिशु स्याहार केन्द्र स्थापना गरिएको बताए।
यस्ता केन्द्रले महिला तथा बालबालिकामैत्री कार्यस्थल निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले स्थानीय सरकारसँगको सहकार्यमा सामाजिक तथा महिला–बालमैत्री कार्यक्रम सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अभियानमा संघको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।
आईएलओ मधेश प्रदेशका संयोजक महेन्द्र सहनीले पारिवारिक जिम्मेवारीका कारण धेरै महिला रोजगारीमा सक्रिय हुन नसक्ने अवस्था रहेको उल्लेख गर्दै शिशु स्याहार केन्द्रले उनीहरूलाई राहत पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले बालबालिकाको प्रारम्भिक विकासका लागि यस्ता केन्द्र आवश्यक रहेको बताउँदै यसको विस्तारमा जोड दिए।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास अधिकृत प्रतिज्ञा वैद्य, वडा नं. ८ का जनप्रतिनिधि, वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी, स्थानीय समाजसेवी तथा सरोकारवालाको सहभागिता रहेको थियो। महिला उद्यमी सहजकर्ता अन्जु राना मगरले कार्यक्रम सञ्चालन गर्दै हस्तान्तरण प्रक्रियाबारे जानकारी गराएकी थिइन्।




