spot_img

बीरगन्ज मेनरोडमा फेरि डोजर, सडक सीमाभित्रका बाँकी संरचना हटाउन सुरु

spot_img
spot_img

बीरगन्ज,१९ असार । त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तारका लागि सडक सीमाभित्र रहेका बाँकी संरचना हटाउने काम शुक्रबारदेखि पुनः सुरु गरिएको छ।

सडक डिभिजन कार्यालय हेटौंडाले गण्डक चोकबाट डोजर परिचालन गर्दै सडक क्षेत्रभित्र परेका घर, भवन तथा अन्य संरचना हटाउन थालेको हो। कार्यालय प्रमुख किरण कार्कीका अनुसार यसअघि संरचना हटाउन पर्याप्त समय दिइए पनि सम्बन्धित घरधनीले आफैं नहटाएकाले सडक ऐन, २०३१ अनुसार डोजर परिचालन गरिएको हो।

यसअघि गत वैशाख ६ र ७ गते पहिलो चरणमा सडकको केन्द्ररेखाबाट दायाँ–बायाँ २५/२५ मिटरभित्र पर्ने करिब १,२०० घर तथा भवनमा आंशिक रूपमा डोजर चलाइएको थियो। त्यसपछि केही घरधनीले आफैं संरचना हटाए पनि घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश संरचना यथावत् रहेका थिए।

सडक डिभिजन कार्यालयले असार २ गते सूचना जारी गर्दै पाँच दिनभित्र सडक सीमाभित्रका संरचना स्वयं हटाउन आग्रह गरेको थियो। तर त्यसको पालना नभएपछि शुक्रबारदेखि बाँकी संरचना हटाउने अभियान पुनः अघि बढाइएको कार्यालयले जनाएको छ।

उता, सडक विस्तारको विरोधमा मेनरोड क्षेत्रका घरधनीहरू भने वैशाखदेखि नै आन्दोलनरत छन्। उनीहरूले मेनरोडलाई शहरी मार्ग घोषणा गरी २५/२५ मिटरको सट्टा १५/१५ मिटर मात्र विस्तार गर्नुपर्ने माग गर्दै आएका छन्।

यसैक्रममा बिहीबार पर्सा–१ का सांसद हरि पन्त, वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी तथा सरोकारवालाको टोलीले काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर मेनरोडलाई शहरी मार्ग घोषणा गर्दै १५/१५ मिटर मात्र विस्तार गर्न पहल गरिदिन आग्रह गरेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय