spot_img

वर्षा अभावले पर्सामा धान रोपाइँ प्रभावित, सिँचाइ खर्च बढ्दा किसान चिन्तित

spot_img
spot_img

बीरगन्ज,१९ असार । असारको तेस्रो सातासम्म पनि पर्याप्त वर्षा नहुँदा पर्सा जिल्लामा धान रोपाइँ प्रभावित भएको छ। समयमै पानी नपरेपछि अधिकांश किसानले रोपाइँ गर्न नसकेको गुनासो गरेका छन् भने सिँचाइका लागि डिजेल पम्प प्रयोग गर्नुपर्दा उत्पादन लागत समेत उल्लेख्य रूपमा बढेको छ।

किसानका अनुसार धानको बिरुवा सामान्यतया २२ देखि २५ दिनभित्र रोप्न योग्य हुने भए पनि यस वर्ष पानी अभावका कारण एक महिनाभन्दा बढी समय बेर्नामै राख्नुपरेको छ। लामो समयसम्म रोप्न नपाउँदा बिरुवा छिपिन थालेका छन्, जसले उत्पादनमा समेत असर पर्ने चिन्ता किसानले व्यक्त गरेका छन्।

जिराभवानी गाउँपालिका–३ नौकाटोलाका किसान काशी राय थारुले गण्डक नहरभन्दा उत्तरी थरुवान क्षेत्रमा बाँध, कुलो र भूमिगत सिँचाइको सुविधा भएका केही स्थानमा मात्रै सीमित रूपमा रोपाइँ भइरहेको बताए। उनका अनुसार विद्युतबाट सञ्चालित भूमिगत सिँचाइ प्रयोग गर्ने किसानको खर्च केही कम भए पनि डिजेलबाट चल्ने पम्पमा निर्भर किसानको लागत निकै बढेको छ।

सेढवाका किसान प्रदीप चौधरीका अनुसार लामो समयदेखि वर्षा नहुँदा खेत अत्यधिक सुख्खा भएकाले जमिनले धेरै पानी सोस्ने गरेको छ। त्यसका कारण एक बिघा खेतमा रोपाइँ गर्न मात्रै ४ हजारदेखि ६ हजार रुपैयाँसम्म डिजेल खर्च हुने अवस्था आएको उनले बताए। रोपाइँपछि पनि केही दिनमै पुनः सिँचाइ गर्नुपर्ने भएकाले लागत झन् बढ्दै गएको उनको भनाइ छ।

यस्तै, जगरनाथपुर गाउँपालिका–५ चिलझप्टीका किसान सुरेश यादवका अनुसार वर्षा अभावका कारण त्यस क्षेत्रमा ५ प्रतिशतभन्दा कम धान रोपाइँ भएको छ। भूमिगत सिँचाइको सुविधा नहुँदा अधिकांश किसान पूर्ण रूपमा वर्षामै निर्भर रहेको उनले बताए।

गण्डक नहरमा केही दिनअघि मात्रै सिँचाइका लागि पानी आएपछि केही स्थानमा रोपाइँ सुरु भए पनि जिल्लाभरि पर्याप्त प्रगति हुन सकेको छैन। समयमै वर्षा नहुँदा धान उत्पादनमा कमी आउने र किसानले आर्थिक क्षति बेहोर्नुपर्ने चिन्ता बढ्दै गएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय