काठमाडौं,१९ असार । निजामती कर्मचारीलाई कार्यस्थलमै सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा इकाइ सञ्चालनमा आएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको भुइँतलामा शुक्रबारदेखि सेवा इकाइ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। अब निजामती कर्मचारीले सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म पुग्नुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ।
मन्त्रालयका अनुसार कर्मचारीलाई कार्यस्थलमै प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने तथा निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्ने उद्देश्यले सेवा इकाइ स्थापना गरिएको हो।
सेवा इकाइबाट रक्तचाप (ब्लड प्रेसर) परीक्षण, रगत परीक्षणलगायत आधारभूत स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ। यो सेवा निजामती कर्मचारीसँगै मन्त्रालयमा सेवा लिन आउने सेवाग्राहीका लागि पनि उपयोगी हुने मन्त्रालयले जनाएको छ।
सेवा इकाइको सञ्चालनसँगै शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पनि आफ्नो रक्तचाप परीक्षण गराएर सेवाको शुभारम्भ गरेकी छन्।




