काठमाडौँ,१९ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको शिक्षा क्षेत्र सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएका छन्। शिक्षा क्षेत्रको सबैभन्दा ठूलो समस्या राजनीतिकरण नभई दलीयकरण भएको उनको भनाइ छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक नियुक्तिसम्म दलगत स्वार्थ हाबी हुँदा शिक्षा प्रणाली कमजोर बनेको दाबी गरे।
उनले विद्यालयको व्यवस्थापनदेखि नेतृत्वसम्म ‘हाम्रै मान्छे’ हुनुपर्ने सोचले शिक्षा क्षेत्रलाई ठूलो क्षति पुगेको उल्लेख गर्दै यस प्रवृत्तिबाट बाहिर ननिस्किएसम्म गुणस्तरीय शिक्षा सम्भव नहुने बताए।
थापाले शिक्षा आफैँमा राजनीतिक विषय भए पनि त्यसलाई दलगत स्वार्थको माध्यम बनाउनु गलत भएको स्पष्ट पारे। उनका अनुसार शिक्षा क्षेत्रले समुन्नत नेपाल निर्माणमा कसरी योगदान पुर्याउन सक्छ भन्ने विषयमा गम्भीर राष्ट्रिय बहस आवश्यक छ।
उनले मुलुकको विकास र समृद्धिको आधार गुणस्तरीय शिक्षा भएकाले नीति निर्माणदेखि कार्यान्वयनसम्म दीर्घकालीन सोच आवश्यक रहेको बताए।
थापाले सरकारले छिटो परीक्षाफल सार्वजनिक गर्नुलाई मात्र उपलब्धिका रूपमा लिन नहुने पनि बताए। हतारमा नतिजा प्रकाशन गर्दा हजारौँ विद्यार्थी समस्यामा परेको उल्लेख गर्दै उनले कक्षा १० र १२ को परीक्षाफलसम्बन्धी देखिएका समस्या संसदमार्फत सरकारको ध्यानाकर्षण गराउने जानकारी दिए।




