काठमाडौँ,१९ असार । सरकारले १४ महिनादेखि रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्तिको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। शुक्रबार बस्ने संवैधानिक परिषद्को बैठकमा प्रमुख निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायमा हुने नियुक्तिबारे छलफल हुने भएको छ।
प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार परिषद्को बैठकमा संवैधानिक निकायका रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा आवश्यक निर्णय लिइनेछ। सोही क्रममा प्रमुख निर्वाचन आयुक्त र एक जना आयुक्त नियुक्तिका विषयमा पनि छलफल हुने तयारी छ।
निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तको पद गत वर्ष वैशाख ५ गतेदेखि रिक्त छ। तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आफ्नो ६ वर्षे कार्यकाल पूरा गरी अवकाश पाएपछि आयोग कार्यवाहक नेतृत्वको भरमा सञ्चालन हुँदै आएको छ।
थपलियाको अवकाशपछि वरिष्ठ आयुक्त रामप्रसाद भण्डारीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हालिरहेका छन्। यसअघि आयुक्त ईश्वर पौड्याल पनि २०७९ फागुनमा अवकाश भएदेखि उक्त पदसमेत रिक्त रहेको छ।
कार्यवाहक प्रमुखकै नेतृत्वमा आयोगले गत फागुन २१ गते सम्पन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको थियो।
संविधानअनुसार निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित बढीमा पाँच जना आयुक्त रहने व्यवस्था छ। हाल आयोगमा कार्यवाहक प्रमुख रामप्रसाद भण्डारी तथा आयुक्त जानकी तुलाधर र सगुन शम्शेर राणा गरी तीन जना मात्रै कार्यरत छन्।
यद्यपि, आयोग सञ्चालनका लागि तीन जना आयुक्त पर्याप्त हुने बहस बेला–बेलामा उठ्ने गरेको छ। छिमेकी भारतमा पनि तीन सदस्यीय निर्वाचन आयोगले निर्वाचन सञ्चालन गर्दै आएको उदाहरण दिइन्छ। तर नेपालमा भने विगतदेखि पाँच सदस्यीय आयोगको अभ्यास रहँदै आएको छ।




