रौतहट,१९ असार । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर संघीय सरकारले नगरपालिकाको बजेट कार्यान्वयन प्रभावित पार्न खोजेको आरोप लगाएकी छन्।
शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट कार्यान्वयन र भुक्तानीको महत्वपूर्ण समयमा नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइएकाले स्थानीय सरकारको कामकाज प्रभावित भएको बताइन्। यसले विकास योजना रोक्ने र बजेट ‘फ्रिज’ गराउने नियत देखिएको उनको दाबी छ।
मेयर साहका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि सुरेशबाबु घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा मौलापुर नगरपालिकामा खटाएको थियो। तर, उनले प्रभावकारी रूपमा जिम्मेवारी निर्वाह गर्न नसकेपछि मन्त्रालयले उनलाई फिर्ता बोलायो। त्यसपछि हालसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाइएकाले प्रशासनिक काम प्रभावित भएको उनले बताइन्।
उनले नगरपालिकाले सञ्चालन गर्दै आएका ‘फ्रि बिजुली’, ‘फ्रि पानी’ तथा ‘छोरीसँग मेयर’ कार्यक्रमजस्ता जनमुखी योजनालाई समेत प्रभावित पार्ने उद्देश्यले संघीय सरकारले अनावश्यक हस्तक्षेप गरिरहेको आरोप लगाइन्।
मेयर साहका अनुसार प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण कृषक अनुदान, बहुपोषण कार्यक्रम, शिक्षा, स्वास्थ्य, सरसफाइ तथा विभिन्न विकास निर्माणका योजनाको कार्यान्वयनमा समेत समस्या उत्पन्न भएको छ। उनले स्थानीय तहको सेवा प्रवाह र विकासलाई अवरुद्ध नगर्न तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाउन संघीय सरकारसँग माग गरेकी छन्।




