काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको फोर्स गाडी र बेपत्ता यात्रुको खोजीका लागि सशस्त्र प्रहरीले विशेष उपकरणसहित थप गोताखोर टोली परिचालन गरेको छ।
सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार सदस्यीय गोताखोर टोली शुक्रबार कुरिनटारबाट घटनास्थलतर्फ पठाइएको हो। टोलीले शनिबारदेखि सोनार क्यामरा, म्याग्नेटलगायत विशेष उपकरण प्रयोग गरी नदीको गहिराइमा खोजी गर्नेछ।
गत बिहीबार सुर्खेतबाट कालीकोट जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी करिब ६–७ सय मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटनाको दिन घटनास्थलबाट करिब ४ सय मिटर तल एक पुरुषको शव फेला परे पनि गाडी र अन्य यात्रुको अवस्था अझै अज्ञात रहेको सशस्त्र प्रहरीले जनाएको छ।




