काठमाडौं । विश्वकप फुटबलको राउन्ड अफ ३२ का सबै खेल सम्पन्न भएसँगै अन्तिम १६ मा पुग्ने टोलीहरूको टुङ्गो लागेको छ। रोमाञ्चक खेल, अन्तिम मिनेटका निर्णायक गोल तथा पेनाल्टी सुटआउटमा भएका अप्रत्याशित नतिजाबीच १६ टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरेका हुन्।
क्यानडाले दक्षिण अफ्रिकाविरुद्ध दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गर्दै अन्तिम १६ मा पुग्ने पहिलो टोली बन्यो। ब्राजिलले जापानलाई पराजित गर्दा पराग्वेले जर्मनी र मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै प्रतियोगिताका सबैभन्दा ठूला उलटफेर गरे। नर्वेले अन्तिम मिनेटमा गोल गर्दै आइभोरी कोस्टलाई पराजित गर्दा फ्रान्सले स्विडेनमाथि ३–० को सहज जित निकाल्यो। मेक्सिकोले इक्वेडरलाई २–० ले हराउँदै अघिल्लो चरणमा स्थान बनायो।
यस्तै, ह्यारी केनको अन्तिम समयमा आएको दुई गोलको मद्दतमा इङ्गल्यान्डले प्रजातान्त्रिक गणतन्त्र कङ्गोलाई २–१ ले पराजित गर्यो। बेल्जियमले ८६औँ मिनेटसम्म २–० ले पछि परेको अवस्था उल्टाउँदै अतिरिक्त समयमा सेनेगलमाथि ३–२ को अविस्मरणीय जित निकाल्यो। दोस्रो हाफमा १० खेलाडीमा सीमित भए पनि अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई २–० ले हरायो। स्पेनले अस्ट्रियालाई ३–०, पोर्चुगलले क्रोएसियालाई २–१ र स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गरे। इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा हराउँदा अर्जेन्टिना र कोलम्बियाले क्रमशः केप भर्ड र घानालाई पराजित गर्दै अन्तिम १६ को समीकरण पूरा गरे।
यससँगै क्यानडा, ब्राजिल, पराग्वे, मोरक्को, नर्वे, फ्रान्स, मेक्सिको, इङ्गल्यान्ड, बेल्जियम, अमेरिका, स्पेन, पोर्चुगल, स्विट्जरल्यान्ड, इजिप्ट, अर्जेन्टिना र कोलम्बिया उपाधि होडमा कायम रहेका छन्।
अब प्रि–क्वार्टरफाइनलका खेलहरू निम्न तालिकाअनुसार हुनेछन्:
- शनिबार (असार २०), राति १०ः४५ बजे – क्यानडा विरुद्ध मोरक्को
- आइतबार (असार २१), राति २ः४५ बजे – पराग्वे विरुद्ध फ्रान्स
- सोमबार (असार २२), राति १ः४५ बजे – ब्राजिल विरुद्ध नर्वे
- सोमबार (असार २२), बिहान ५ः४५ बजे – मेक्सिको विरुद्ध इङ्गल्यान्ड
- मंगलबार (असार २३), राति १२ः४५ बजे – स्पेन विरुद्ध पोर्चुगल
- मंगलबार (असार २३), बिहान ५ः४५ बजे – अमेरिका विरुद्ध बेल्जियम
- मंगलबार (असार २३), राति ९ः४५ बजे – इजिप्ट विरुद्ध अर्जेन्टिना
- बुधबार (असार २४), राति १ः४५ बजे – स्विट्जरल्यान्ड विरुद्ध कोलम्बिया
यी खेलका विजेता टोलीहरू क्वार्टरफाइनलमा प्रवेश गर्दै विश्वकप उपाधितर्फको आफ्नो यात्रा थप मजबुत बनाउनेछन्।




