spot_img

मधेसमा होटल अनुगमन कडा, गुणस्तरहीन खाद्य सामग्री प्रयोग गर्ने होटल कारबाहीमा

spot_img
spot_img

जनकपुरधाम,२० असार । मधेस प्रदेश सरकारले होटल तथा रेस्टुरेन्टमा खाद्य सुरक्षाको अवस्था सुधार गर्न थालेको बजार अनुगमन अभियानअन्तर्गत धनुषाका विभिन्न होटलमाथि कारबाही गरेको छ। शुक्रबार मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको संयुक्त टोलीले १० वटा होटलमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरी अखाद्य तथा म्याद गुज्रिएका खाद्य सामग्री प्रयोग गरिएको, सरसफाइमा गम्भीर लापरबाही गरिएको तथा खाद्य सुरक्षासम्बन्धी मापदण्ड उल्लंघन भएको भेटिएपछि सम्बन्धित होटल सञ्चालकमाथि आर्थिक जरिवाना गरिएको छ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार निरीक्षक कृष्ण गैह्रेका अनुसार लक्ष्मीनियास्थित बाबाको ढाबालाई ३५ हजार रुपैयाँ, बाजेको सेकुवालाई ७५ हजार रुपैयाँ, रोयल सम्राट होटललाई ५ हजार रुपैयाँ र बर्गर हाउसलाई ३५ हजार रुपैयाँ जरिवाना गरिएको छ। कसुरको प्रकृतिअनुसार थप कानुनी प्रक्रिया पनि अघि बढाइएको उनले जानकारी दिए।

अनुगमनपछि गृहमन्त्री महतोले होटल व्यवसायीलाई उपभोक्ताको स्वास्थ्यसँग कुनै पनि हालतमा खेलबाड नगर्न चेतावनी दिए। बाध्यता वा रहरले होटलमा खाना खान पुग्ने नागरिकलाई गुणस्तरीय र सुरक्षित भोजन उपलब्ध गराउनु व्यवसायीको दायित्व भएको उल्लेख गर्दै उनले नियमविपरीत काम गर्ने होटलमाथि कारबाही निरन्तर जारी रहने बताए।

उनका अनुसार पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मिथिला नगरपालिकाको लालगढ र ढल्केवर क्षेत्रबाट सुरु गरिएको होटल अनुगमन अभियान अब प्रदेशका अन्य स्थानमा पनि विस्तार गरिनेछ।

होटलमा गुणस्तरहीन खाद्य सामग्री प्रयोग गर्ने व्यवसायीमाथि कारबाही सुरु भएपछि स्थानीय उपभोक्ताले सकारात्मक प्रतिक्रिया दिएका छन्। नियमित अनुगमनले खाद्यजन्य जोखिम न्यूनीकरण, उपभोक्ता अधिकार संरक्षण तथा होटल व्यवसायलाई थप जिम्मेवार र व्यवस्थित बनाउन सहयोग पुग्ने उनीहरूको विश्वास छ।

यद्यपि, केही स्थानीयले सरकारले सुरु गर्ने अभियान प्रभावकारी कार्यान्वयन र निरन्तरतामा जोड दिएका छन्। केही दिनअघि जनकपुरधामका सडक पेटी तथा सार्वजनिक स्थानमा रहेका अतिक्रमित टहरा हटाउने अभियान सुरु भए पनि अहिले पुनः सडकमै बजार लाग्न थालेको भन्दै स्थानीयले होटल अनुगमन पनि केवल प्रारम्भिक अभियानमा सीमित नहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका–४ का सर्वनाथ झाले अनुगमनलाई नियमित र प्रभावकारी बनाउन आग्रह गर्दै सुरुआत मात्र पर्याप्त नहुने बताए। त्यस्तै, युवा नागरिक समाजका अगुवा सरोजकुमार मिश्राले गृहमन्त्रीले थालेको अभियान प्रशंसनीय भए पनि यसको निरन्तरता सम्बन्धित निकायले सुनिश्चित गर्नुपर्ने धारणा राखे।

स्थानीयको अपेक्षाअनुसार नियमित र निष्पक्ष अनुगमनलाई निरन्तरता दिइए मात्रै उपभोक्ताले सुरक्षित खाद्य सेवा पाउने र होटल व्यवसायसमेत थप जिम्मेवार बन्ने विश्वास गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय