विराटनगर,२० असार । संघीय सरकारका गृहमन्त्री सुधन गुरुङ शनिबार बिहान विराटनगर पुगेका छन्। जिल्लाको सुरक्षा अवस्था, प्रशासनिक सेवा प्रवाह तथा नेपाल–भारत सीमा क्षेत्रको अवस्थाबारे जानकारी लिन उनी मोरङ आएका हुन्।
विराटनगर पुगेलगत्तै जिल्ला प्रशासन कार्यालय मोरङको निरीक्षण गरेका गृहमन्त्री गुरुङले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन कर्मचारीलाई निर्देशन दिए। आवश्यक परे एकीकृत सेवा प्रवाहका लागि थप संरचना निर्माण गर्नसमेत उनले सम्बन्धित निकायलाई सुझाव दिए।
त्यसपछि उनले नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। सीमा सुरक्षाको अवस्था, आवतजावत तथा सुरक्षा व्यवस्थाबारे उनले स्थलगत जानकारी लिनेछन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री गुरुङले प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको बताए। देशका धेरै स्थानमा प्रहरीका भवन तथा कार्यालयहरू जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले त्यसको सुधारका लागि सरकारले योजनाबद्ध रूपमा काम अघि बढाइरहेको जानकारी दिए।
उनले नागरिकमैत्री सेवा प्रवाह, प्रभावकारी सुरक्षा व्यवस्था र प्रहरी पूर्वाधारको आधुनिकीकरणलाई सरकारले विशेष प्राथमिकतामा राखेको पनि बताए।




