बीरगन्ज,२० असार । विद्यालय शिक्षामा प्रविधिमैत्री वातावरण विस्तार गर्ने उद्देश्यसहित सूर्य नेपाल प्रालिले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयलाई ७ वटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो।
आयोजित कार्यक्रममा सूर्य नेपालका व्यवस्थापक सुरेशकाजी श्रेष्ठले विद्यालयका प्रधानाध्यापक शंकर आचार्यलाई स्मार्ट बोर्ड हस्तान्तरण गर्दै गुणस्तरीय शिक्षाका लागि आधुनिक प्रविधिको प्रभावकारी प्रयोग अपरिहार्य बन्दै गएको बताए। सूचना प्रविधिको तीव्र विकाससँगै शिक्षण–सिकाइ प्रणालीलाई डिजिटल माध्यममा रूपान्तरण गर्न आवश्यक रहेको उनको भनाइ थियो।
श्रेष्ठले कृत्रिम बौद्धिकता (एआई), च्याटजीपीटी, जेमिनी तथा क्लाउड प्रविधिजस्ता आधुनिक डिजिटल उपकरणले शिक्षाको स्वरूप परिवर्तन गरिरहेको उल्लेख गर्दै विद्यार्थी र शिक्षक दुवै समयअनुकूल प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिए। प्रतिस्पर्धात्मक युगमा डिजिटल सीप आधारभूत आवश्यकता बनिसकेको उनको धारणा थियो।
उनले सूर्य नेपालले विगत ४३ वर्षदेखि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर सामाजिक लगानी गर्दै आएको जानकारी दिए। स्थानीय समुदायसँग सहकार्य गर्दै दिगो विकासमा योगदान पुर्याउने कम्पनीको प्रतिबद्धता रहेको उनले बताए।
विद्यालयका प्रधानाध्यापक शंकर आचार्यले कम्पनीको सहयोगप्रति आभार व्यक्त गर्दै स्मार्ट बोर्डले कक्षाकोठाको शिक्षण–सिकाइ प्रक्रिया अझ प्रभावकारी, अन्तरक्रियात्मक र विद्यार्थीकेन्द्रित बन्ने विश्वास व्यक्त गरे। अडियो–भिडियो, डिजिटल प्रस्तुतीकरण तथा अन्य प्रविधिमैत्री सामग्रीको प्रयोगबाट विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पर्ने उनले बताए।
सूर्य नेपालले यसअघि पनि विद्यालयमा प्रशासनिक भवन निर्माण, जीवविज्ञान प्रयोगशाला स्थापना, कम्प्युटर तथा स्मार्ट बोर्ड उपलब्ध गराउनेलगायत विभिन्न शैक्षिक पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ। हाल विद्यालय परिसरमा इन्टरलक ब्लक बिछ्याउने तथा हरियाली प्रवर्द्धन गर्ने कार्यसमेत सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।
यसै कार्यक्रममार्फत कम्पनीले सिमरा कलेजलाई ४ वटा तथा जनता माध्यमिक विद्यालय, रजघट्टा माध्यमिक विद्यालय, डुमरवाना माध्यमिक विद्यालय र पथलैया माध्यमिक विद्यालयलाई जनही २–२ वटा स्मार्ट बोर्ड उपलब्ध गराएको छ। यससँगै विभिन्न शैक्षिक संस्थामा कुल १९ वटा स्मार्ट बोर्ड वितरण गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठ, सूर्य नेपालका प्रतिनिधि यज्ञबहादुर आले, उमेश थापा, विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।




