रौतहट,२० असार । नेपाली सेनाले नागरिक–सैनिक सम्बन्धलाई सुदृढ बनाउने र विद्यालयस्तरको शैक्षिक पूर्वाधार सुधार गर्ने उद्देश्यले रौतहटको चन्द्रपुर नगरपालिकास्थित एक विद्यालयमा निर्माण गरिएको महिला तथा पुरुष शौचालय विद्यालयलाई हस्तान्तरण गरेको छ।
नेपाली सेनाको श्री नारायणदल गणले आफ्नो जिम्मेवारी क्षेत्रअन्तर्गत चन्द्रपुर नगरपालिका–२, जुडिवेलास्थित श्री आधारभूत विद्यालय, असनवामा अध्ययनरत विद्यार्थीका लागि निर्माण गरेको शौचालय शुक्रबार आयोजित कार्यक्रमबीच उद्घाटन तथा हस्तान्तरण गरिएको हो।
गत चैत २२ गतेदेखि निर्माण सुरु गरिएको शौचालयको उद्घाटन मध्य पूर्वी पृतनाका पृतनापति उपरथी भुवन खत्रीले गरेका थिए। उद्घाटनपछि उक्त संरचना चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जयकुमार चौधरीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको श्री नारायणदल गणका गणपति कर्णेल विश्वास विष्टले जानकारी दिए।
कार्यक्रममा उपप्रमुख चौधरीले आयोजना सफलतापूर्वक सम्पन्न गरेकोमा पृतनापति उपरथी भुवन खत्री, श्री नं. २८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मिलन तुलाचन तथा श्री नारायणदल गणका गणपति कर्णेल विश्वास विष्टलाई कदरपत्र प्रदान गर्दै आभार व्यक्त गरिन्।
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, श्री नं. २८ बाहिनी अड्डाका बाहिनीपति, वडा नं. २ र ७ का जनप्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्थानीय समाजसेवी, अभिभावक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सो अवसरमा वक्ताहरूले विद्यालयमा सुरक्षित र स्वच्छ शौचालयको उपलब्धताले विद्यार्थीको स्वास्थ्य तथा अध्ययन वातावरणमा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै शिक्षा क्षेत्रमा पूर्वाधार विकास र नागरिक–सैनिक सहकार्यलाई अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रमको निरन्तरतामा जोड दिए।
नेपाली सेनाले स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै प्रत्येक वर्ष शिक्षा, स्वास्थ्य, खानेपानी तथा सामुदायिक पूर्वाधार विकासका क्षेत्रमा शीघ्र प्रभावकारी आयोजना सञ्चालन गर्दै आएको जनाएको छ। यस्ता कार्यक्रमले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुर्याउनुका साथै नेपाली सेना र नागरिकबीचको विश्वास तथा सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।




