काठमाडौँ,२० असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पदभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेकी छन्।
शनिबार सार्वजनिक गरिएको प्रगति विवरणमा स्वास्थ्य सेवालाई थप प्रभावकारी, सुलभ, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यका साथ विभिन्न सुधारात्मक कार्यक्रम अघि बढाइएको उल्लेख गरिएको छ।
मन्त्री मेहताका अनुसार नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित मन्त्रालयले ‘निःशुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएको छ। हालसम्म उक्त पोर्टलमा २१७ अस्पताल आबद्ध भइसकेका छन् भने ३ हजार २५५ निःशुल्क शय्या छुट्याइएको छ।
स्वास्थ्य सेवाको डिजिटल प्रणाली सुदृढ गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहकार्यमा ‘राष्ट्रिय एकीकृत स्वास्थ्य सूचना प्रणाली मापदण्ड’ स्वीकृत गरिएको छ। यसबाट बिरामीको स्वास्थ्य अभिलेख विभिन्न अस्पतालबीच सुरक्षित रूपमा आदान–प्रदान गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
अस्पताल सेवामा सुधार ल्याउन ‘अस्पताल सेवा सुधार कार्यविधि, २०८२’ र ‘बिरामी प्रेषण राष्ट्रिय निर्देशिका, २०८१’ लागू गरिएको छ। यस्तै, सरकारी अस्पतालमा स्वास्थ्य बिमा र निःशुल्क औषधि वितरणलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्न ‘सुलभ फार्मेसी सेवा सम्बन्धी मापदण्ड’ कार्यान्वयनमा ल्याइएको छ। मन्त्रालयले नेपाल औषधि लिमिटेडसँग प्रत्यक्ष औषधि खरिद गर्ने सम्झौता पनि गरेको जनाएको छ।
आपतकालीन तथा विशिष्टीकृत उपचार सेवामा पनि उल्लेखनीय प्रगति भएको दाबी गरिएको छ। देशका १४ संघीय अस्पतालमा जलन उपचार युनिट सञ्चालनमा ल्याइनुका साथै २० करोड रुपैयाँको जलन उपचार कोष स्थापना गरिएको छ। साथै, आपतकालीन उद्धारलाई सहज बनाउन ११ वटा हेलिकप्टर कम्पनीसँग सहुलियत दरमा सेवा उपलब्ध गराउने सम्झौता गरिएको छ।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत २०८२ मंसिरसम्मको दाबीबापत अस्पतालहरूलाई १८ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ। बिमा प्रणालीमा देखिएका समस्या समाधानका लागि तत्कालीन र मध्यकालीन रणनीति कार्यान्वयन भइरहेको पनि प्रगति विवरणमा उल्लेख छ।
मानसिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न ‘सरकारी अस्पतालबाट मनोपरामर्श सेवा सञ्चालन मापदण्ड, २०८३’ स्वीकृत गरिएको छ भने ११६६ हटलाइनमार्फत मनोपरामर्श सेवा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ।
दुर्गम तथा हिमाली क्षेत्रका स्थानीय तहमा हाई अल्टिच्युड क्लिनिक स्थापना गर्न बजेट विनियोजन गरिएको छ। लामो समयदेखि रोकिएको संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण सम्पन्न गरी ९७७ नयाँ संघीय दरबन्दी थपिएको तथा नर्सिङ र स्वास्थ्यकर्मीको न्यूनतम तलब तथा रात्रिकालीन भत्ता वृद्धि गरिएको पनि विवरणमा उल्लेख छ।
खाद्य स्वच्छता तथा जनस्वास्थ्य सुरक्षातर्फ मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत १५ हजार ६९० खाद्य नमुनामा विषादी अवशेष परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
यस्तै, अन्तर्राष्ट्रिय स्तरमा ७९औँ विश्व स्वास्थ्य सभामा नेपालले उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै स्वास्थ्य कूटनीतिमा महत्वपूर्ण उपलब्धि हासिल गरेको मन्त्री मेहताले सार्वजनिक गरेको १०० दिने प्रगति विवरणमा उल्लेख गरिएको छ।




