बीरगन्ज,२० असार । बीरगन्ज महानगरपालिकाले बर्ड फ्लुको संक्रमणसँग सम्बन्धित भ्रामक समाचार र अफवाहप्रति विश्वास नगर्न नगरवासीलाई आग्रह गरेको छ। सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा बर्ड फ्लु देखिएपछि कुखुराको मासु र अण्डा सेवन गर्न नहुने भन्ने भ्रमपूर्ण सूचना फैलिएको भन्दै महानगरले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
महानगरपालिकाको पशु सेवा शाखाले शुक्रबार जारी गरेको सूचनामा वैज्ञानिक तथ्य र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सिफारिसअनुसार राम्रोसँग पकाइएको कुखुराको मासु र अण्डा पूर्ण रूपमा सुरक्षित, पौष्टिक तथा स्वास्थ्यका लागि लाभदायक हुने उल्लेख गरिएको छ।
महानगरले कुखुराको मासु तथा अण्डा प्रयोग गर्दा सरसफाइमा विशेष ध्यान दिन, पर्याप्त तापक्रममा राम्रोसँग पकाएर मात्रै सेवन गर्न तथा यस विषयमा आधिकारिक निकायबाट जारी हुने सूचना र निर्देशनमा मात्रै विश्वास गर्न सबै नगरवासीसँग अनुरोध गरेको छ।
पशु सेवा शाखाले बर्ड फ्लुसम्बन्धी अपुष्ट सूचना र अफवाह फैलाएर अनावश्यक त्रास सिर्जना नगर्न पनि आग्रह गरेको छ। “भ्रम होइन, तथ्यमा विश्वास गरौँ, सुरक्षित रूपमा पकाइएको कुखुरा र अण्डाको सेवन गरौँ,” भन्ने सन्देशसमेत महानगरले दिएको छ।




