spot_img

बजेटपछि मात्रै सरकारको नेतृत्वबारे छलफल हुन्छ : कांग्रेस महामन्त्री घिमिरे

spot_img
spot_img

हेटौँडा,२० असार  । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे बजेट पारित भएपछि मात्रै छलफल हुने स्पष्ट गरेका छन्। बजेट र सरकारको नेतृत्व फरक विषय भएकाले दुवैलाई एकै ठाउँमा जोडेर अघि बढ्न नहुने उनको भनाइ छ।

शनिबार बिहान बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकलाई सम्बोधन गर्दै घिमिरेले बजेटमा देखिएका कमजोरीलाई क्रमिक रूपमा सुधार गर्दै जान सकिने बताए। उनले बजेटका विषयमा देखिएको असन्तुष्टिलाई व्यवस्थापन गर्दै पार्टीभित्र एकता कायम राख्न सांसदहरूलाई निर्देशन दिए।

बैठकमा सत्तापक्ष र असन्तुष्ट दुवै पक्षका सांसदको धारणा सुनेपछि उनले बजेट पारित हुनुअघि सरकारको नेतृत्व परिवर्तनबारे छलफल गर्नु उपयुक्त नहुने बताए। बजेटसँग सम्बन्धित प्राविधिक तथा राजनीतिक असन्तुष्टिलाई पार्टीभित्रै संवादमार्फत समाधान गर्नुपर्नेमा उनले जोड दिए।

घिमिरेले बजेटका कारण पार्टीको छविमा नकारात्मक असर पर्न नदिनुपर्ने उल्लेख गर्दै बजेटका कमजोरी सुधार गर्न सकिने भए पनि सरकार परिवर्तनको विषयलाई त्यससँग जोड्न नहुने धारणा राखे।

उनले केन्द्रमा बनेको नेपाली कांग्रेस–नेकपा (एमाले) गठबन्धनको प्रभाव प्रदेश सरकारहरूमा पनि पर्ने बताए। सातै प्रदेशको नेतृत्व र शक्ति बाँडफाँडबारे सत्ता गठबन्धनमा छलफल हुन बाँकी रहेको जानकारी दिँदै बागमती प्रदेशको नेतृत्व कांग्रेसले नै लिने गरी पहल हुने विश्वास व्यक्त गरे।

महामन्त्री घिमिरेका अनुसार साउन महिनापछि सातै प्रदेशको सरकारको नेतृत्व र शक्ति बाँडफाँडबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय