spot_img

पर्सामा हुण्डी कारोबार रोकिएन, तीन वर्षमा डेढ करोडभन्दा बढी बरामद

spot_img
spot_img

बीरगन्ज,२० असार । नियमित पक्राउ र कानुनी कारबाही भइरहे पनि पर्सा जिल्लामा अवैध हुण्डी कारोबार पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन। पछिल्ला तीन आर्थिक वर्षको प्रहरी तथ्यांकले पक्राउ संख्या र बरामद रकम दुवै उच्च देखिँदै कारोबार निरन्तर जारी रहेको संकेत गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत हुण्डी कारोबारसम्बन्धी मुद्दामा अनुसन्धान तथा कारबाही भइरहेको छ। तर पक्राउ पर्ने अधिकांश व्यक्ति रकम ओसारपसार गर्ने भरिया मात्र हुने र मुख्य गिरोहसम्म पुग्न कठिनाइ रहेको प्रहरीले जनाएको छ।

खुला सीमाको फाइदा उठाउँदै भारत र नेपालबीच अनौपचारिक माध्यमबाट रकम ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ। यसरी अवैध रूपमा कारोबार पुनः नेपाल भित्र्याउने क्रम जारी रहेको देखिएको छ।

तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा ७ वटा मुद्दा दर्ता भएका थिए, जसमा ११ जना पक्राउ परेका थिए भने ६२ लाख ८१ हजार ५ सय रुपैयाँ बरामद गरिएको थियो। त्यसपछि गत आर्थिक वर्षमा ८ मुद्दामा ९ जना पक्राउ परेका थिए र ६६ लाख ७४ हजार रुपैयाँ बरामद भएको थियो।

चालु आर्थिक वर्षमा हालसम्म ८ वटा मुद्दा दर्ता भइसकेका छन्। ती घटनामा १२ जना पक्राउ परेका छन् भने ५३ लाख २१ हजार ४ सय ७० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

तीन वर्षको समग्र तथ्यांक हेर्दा हुण्डीसम्बन्धी मुद्दा, पक्राउ र बरामद रकम स्थिर उच्च स्तरमै रहेको देखिन्छ। यसले नियन्त्रण प्रयास भए पनि अवैध वित्तीय कारोबार रोक्न चुनौती कायम रहेको स्पष्ट हुन्छ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी राजु कार्कीले खुला सीमाको दुरुपयोग गरेर हुने अवैध वित्तीय कारोबार नियन्त्रणका लागि निगरानी र अनुसन्धानलाई थप प्रभावकारी बनाइने बताएका छन्।

 

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय