बीरगन्ज,२० असार । मधेश प्रदेशमा असारको तेस्रो सातासम्म कुल धान खेतीयोग्य क्षेत्रमध्ये १४.७३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। कृषि विकास निर्देशनालय मधेश प्रदेशका अनुसार असार १९ गतेसम्म ३ लाख ८५ हजार ९३३ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये ५९ हजार ८९५.०६ हेक्टरमा धान रोपाइँ सकिएको हो।
तथ्यांकअनुसार सबैभन्दा बढी रोपाइँ सिरहामा र सबैभन्दा कम सर्लाहीमा भएको छ। सिरहामा ५४ हजार हेक्टरमध्ये २५ प्रतिशत अर्थात् १३ हजार ५०० हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने सप्तरीमा ६८ हजार हेक्टरमध्ये २४ प्रतिशत अर्थात् १६ हजार ३२० हेक्टरमा रोपाइँ सकिएको छ।
धनुषामा ४३ हजार ७०० हेक्टरमध्ये १५ प्रतिशत (६ हजार ५५५ हेक्टर) क्षेत्रमा रोपाइँ भएको छ। त्यस्तै बारामा १३ प्रतिशत (५ हजार ८६३ हेक्टर), महोत्तरीमा १२.३७ प्रतिशत (४ हजार ९४८ हेक्टर) तथा पर्सामा १२ प्रतिशत (६ हजार ४७२.५६ हेक्टर) क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।
रौतहटमा ८.५ प्रतिशत अर्थात् ३ हजार २७२.५६ हेक्टर क्षेत्रमा रोपाइँ भएको छ भने सर्लाहीमा सबैभन्दा कम ८ प्रतिशत अर्थात् ३ हजार ४१५ हेक्टर क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको छ।
निर्देशनालयका अनुसार मधेश प्रदेशमा कुल ५ लाख ५२ हजार ७४५.५ हेक्टर खेतीयोग्य जमिनमध्ये ३ लाख ८५ हजार ९३३ हेक्टरमा प्रत्येक वर्ष धान खेती हुने गरेको छ।
बागवानी विकास अधिकृत किरण विश्वकर्माले मनसुन सक्रिय भएसँगै रोपाइँले गति लिन थालेको बताउँदै आगामी दिनमा नियमित वर्षा भए रोपाइँ अझ तीव्र हुने अपेक्षा गरिएको जानकारी दिनुभयो। पर्याप्त वर्षा भएका क्षेत्रमा किसानहरू खेत तयारी र रोपाइँमा व्यस्त छन् भने वर्षा कम भएका जिल्लामा किसान आकाशे पानीको प्रतीक्षामा छन्।




