वीरगन्ज,२० असार । पर्साको पर्सागढी नगरपालिका–७ रघुनाथपुरमा विद्यार्थीलाई लक्षित गरी निःशुल्क एकदिने प्राथमिक उपचार तथा सिपिआर (सीपीआर) तालिम सम्पन्न भएको छ। रघुनाथपुरस्थित सामुदायिक भवनमा आयोजित तालिममा कक्षा १०, ११, १२ तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा मुख्य प्रशिक्षक चिकित्सक डा. चन्द्रभूषण सिंहले आपत्कालीन अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचार, सिपिआरको सही विधि तथा जीवनरक्षक उपायबारे सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिएका थिए। समयमै सही प्राथमिक उपचार गर्न सके धेरैको ज्यान बचाउन सकिने भएकाले यस्ता सीप सबैका लागि आवश्यक रहेको उनले बताए।
तालिममा हृदयघात वा श्वासप्रश्वास बन्द भएको अवस्थामा गरिने सिपिआर, सर्पदंशपछि अपनाउनुपर्ने प्राथमिक उपचार तथा त्यससम्बन्धी भ्रमबारे जानकारी दिइएको थियो। साथै सामाजिक सुरक्षा कोष, मातृसुरक्षा कार्यक्रम र स्वास्थ्य बीमालगायत सरकारी स्वास्थ्य सेवाबारे पनि विद्यार्थीलाई सचेत गराइएको थियो।
स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सामाजिक अभियन्ता बुद्धिराज पौडेल, कविराज अर्याल, जोखु मियाँ, विकेश राय थारु र शत्रुधन चौधरीलगायतको सहभागिता रहेको थियो।
सहभागीहरूले यस्ता तालिमले विद्यार्थीमा सामाजिक उत्तरदायित्व, आत्मविश्वास तथा विपद् र स्वास्थ्य आपत्कालीन अवस्थामा तत्काल सहयोग गर्ने क्षमता विकास हुने विश्वास व्यक्त गरेका छन्। आयोजकले यस्ता जीवनोपयोगी तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।




