काठमाडौं,२० असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल निर्माणका लागि संघर्ष, मेहनत र त्यागको विकल्प नभएको बताएका छन्।
शनिबार बागमती प्रदेशस्तरीय पार्टी जागरण अभियानको उद्घाटन गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य निरन्तर परिश्रम, समर्पण र जोखिम बहन गरेर मात्रै हासिल गर्न सकिने बताए। कुनै पनि देश बिना मेहनत र त्याग समृद्ध बन्न नसक्ने भन्दै उनले केही नगरी समृद्धिको अपेक्षा गर्नु यथार्थपरक नहुने धारणा राखे।
अध्यक्ष ओलीले शान्त, समृद्ध र आधुनिक नेपाल निर्माणका लागि सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै व्यक्तिगत स्वार्थ, अहंकार, धोका र षड्यन्त्रजस्ता प्रवृत्तिले विकास र सामाजिक रूपान्तरणमा बाधा पुर्याइरहेको बताए। यस्ता नकारात्मक सोच त्यागेर राष्ट्र निर्माणमा एकजुट हुनुपर्नेमा उनले जोड दिए।




