काठमाडौं,२० असार । सरकारले दूध खरिदबापत किसानलाई भुक्तानी गर्न बाँकी रहेको रकममध्ये करिब ४१ करोड रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ। सरकार गठनको एक सय दिन पुगेको अवसरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे जानकारी दिएका हुन्।
उनका अनुसार दूध खरिदमार्फत किसानलाई तिर्न बाँकी रहेको कुल ६७ करोड रुपैयाँमध्ये हालसम्म करिब ४१ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। बाँकी रकम पनि क्रमशः निकासा गरी चाँडै भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए।
प्रवक्ता पोखरेलले स्वास्थ्य सेवासम्बन्धी डिजिटल पहलअन्तर्गत झन्डै दुई हजार नागरिकले ‘फ्री हेल्थ पोर्टल’ मार्फत सेवा लिएको जानकारी पनि दिए।
सरकारले किसानको भुक्तानी समयमै गर्ने तथा कृषि क्षेत्रलाई व्यवस्थित बनाउनेतर्फ निरन्तर काम भइरहेको जनाएको छ।




