मुम्बई,२० असार । बलिउड अभिनेता आमिर खान आफ्नो तेस्रो विवाहको तयारीमा व्यस्त छन्। उनी आइतबार प्रेमिका गौरी स्प्रैटसँग वैवाहिक बन्धनमा बाँधिन लागेका हुन्।
लामो समयदेखि लिभ–इन सम्बन्धमा रहेका आमिर र गौरीले अब आफ्नो सम्बन्धलाई कानुनी मान्यता दिन लागेका हुन्। आमिरले विवाहलाई भव्य बनाउनेभन्दा पारिवारिक र निजी समारोहका रूपमा आफ्नै निवासमा सम्पन्न गर्ने तयारी गरेका छन्। विवाहमा परिवारका सदस्य र केही नजिकका साथीभाइ मात्र सहभागी हुने जनाइएको छ।
यसअघि आमिरले सन् १९८६ मा रीना दत्ता र सन् २००५ मा किरण रावसँग विवाह गरेका थिए। दुवैसँग सम्बन्धविच्छेद भएपछि उनी गौरीसँग सम्बन्धमा रहेका थिए।
गत वर्ष आफ्नो ६०औँ जन्मदिनका अवसरमा आमिरले पहिलोपटक गौरीलाई सार्वजनिक रूपमा आफ्नो जीवनसाथीका रूपमा परिचय गराएका थिए। बेङ्गलुरु निवासी गौरी पेशाले फेसन तथा सैलुन व्यवसायी हुन्। उनको पनि यो दोस्रो विवाह हो। करिब २५ वर्षदेखिको चिनजान प्रेममा परिणत हुँदै अब विवाहसम्म पुगेको हो।




