spot_img

मुआब्जा विवाद समाधानपछि बर्दिबासतर्फ रेलमार्ग निर्माणले गति समात्यो

spot_img
spot_img

जनकपुर,२१ असार । लामो समयदेखि रोकिएको जग्गा मुआब्जा विवाद समाधान भएसँगै जयनगर–बर्दिबास रेलमार्गको बाँकी निर्माण कार्यले गति लिएको छ। नेपाल रेल्वे कम्पनीले अब आगामी दुई वर्षभित्र बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यसहित निर्माणलाई तीव्र बनाएको जनाएको छ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार मुआब्जासम्बन्धी सबै प्रमुख अवरोध हटेपछि निर्माण कम्पनी इरकन इन्टरनेसनलले धनुषा र महोत्तरी क्षेत्रमा ट्र्याक बिछ्याउने कामलाई तीव्रता दिएको छ।

जयनगर–बर्दिबास ७० किलोमिटर लामो रेलमार्गमध्ये जयनगर–कुर्था खण्डमा भने २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ। अब बाँकी खण्ड निर्माण सम्पन्न भएपछि सेवा बर्दिबाससम्म विस्तार हुने अपेक्षा गरिएको छ।

यसैबीच, नेपाल रेल्वे कम्पनीले विभिन्न स्थानमा अतिक्रमणमा परेको आफ्नो जग्गाको पहिचान गर्न अभियान सुरु गरेको छ। महाप्रबन्धक पराजुलीका अनुसार नक्साको आधारमा रेल्वेको स्वामित्वमा रहेको जग्गा खोजी गरी अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको छ।

नेपाल–भारत सहकार्यअन्तर्गत निर्माण भइरहेको जयनगर–बर्दिबास ब्रोडगेज रेलमार्गलाई दुई देशबीचको महत्वपूर्ण सीमापार पूर्वाधार परियोजनाका रूपमा हेरिएको छ। परियोजना सम्पन्न भएपछि सीमा क्षेत्रमा आवागमन सहज हुने, व्यापारिक गतिविधि विस्तार हुने तथा नेपालको रेल पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय