जनकपुर,२१ असार । निगौल गाई गौशाला व्यवस्थापन कार्यालयकी प्रमुख कान्तिकुमारी पाण्डेमाथि हातपात तथा दुर्व्यवहार गरेको आरोपमा गौशाला नगरपालिकाका आठ नगर प्रहरीविरुद्ध आपराधिक उपद्रव तथा हुलदंगा मुद्दा दर्ता गरिएको छ।
घटना गत बिहीबारको हो। गौशालाको स्वीकृतिबिना गौशालाको जग्गामा ढल निकासको काम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न पुगेकी पाण्डेमाथि नगर प्रहरीले हातपात र दुर्व्यवहार गरेको आरोप छ। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले सम्बन्धित नगर प्रहरीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक पञ्चलाल गेलेका अनुसार पीडित पाण्डेले दिएको जाहेरीका आधारमा आठ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मुद्दामा पक्राउ पर्नेहरूमा लक्ष्मीनारायण चौधरी, जुलेरप्रसाद सिंह, रितुकुमारी, रमेश पासवान, राजेशकुमार महतो, पानबहादुर लामा, अजयकुमार यादव र चन्द्रिकाकुमारी चौधरी रहेका छन्।
मुलुकी अपराध संहिता, २०७४ अनुसार आपराधिक उपद्रव तथा हुलदंगाको कसुर प्रमाणित भएमा दोषीलाई एक वर्षसम्म कैद, १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। घटनाका क्रममा कुनै सम्पत्तिमा क्षति पुगेको पुष्टि भएमा सम्बन्धित व्यक्तिबाट क्षतिपूर्ति समेत असुल गरिने कानुनी व्यवस्था रहेको छ।




