काठमाडौं,२१ असार । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालय समयमा अनिवार्य रूपमा ढाका टोपी लगाउन निर्देशन दिएका छन्। नेपाली मौलिकता, संस्कृति र राष्ट्रिय पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो निर्देशन दिइएको स्रोतले जनाएको छ।
शुक्रबार राति विमानस्थलको निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री गुरुङले अध्यागमन कर्मचारीको पोसाक, व्यवहार र सेवा नै नेपाल आउने विदेशी नागरिकले देख्ने पहिलो छाप हुने भएकाले त्यसमा नेपाली पहिचान झल्किनुपर्ने बताएका थिए।
उनले सेवाग्राहीमैत्री, अनुशासित र मर्यादित सेवा प्रवाहसँगै नेपाली संस्कृति र राष्ट्रिय पहिचानलाई समेत अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न ढाका टोपीको प्रयोगलाई अनिवार्य बनाउन निर्देशन दिएका हुन्।
यसअघि सरकारले लागू गरेको ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१’ ले पनि सार्वजनिक निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीलाई उपलब्ध भएसम्म स्वदेशी उद्योगबाट उत्पादित पोशाक प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। निर्देशिकामा सार्वजनिक निकायका पदाधिकारीले उपहार प्रदान गर्दा समेत स्वदेशी वस्तुको प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ।
गृहमन्त्रीको निर्देशनलाई सरकारले अघि सारेको स्वदेशी उत्पादनको प्रवर्द्धन र नेपाली मौलिक पहिचान संरक्षणसम्बन्धी नीतिसँग जोडेर हेरिएको छ।




