spot_img

कुख्यात जंगली हात्ती ‘ध्रुवे’को आक्रमणमा चितवनमा आमा–छोराको मृत्यु

spot_img
spot_img

चितवन,२१ असार । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली भाले हात्ती ‘ध्रुवे’ ले करिब नौ वर्षपछि फेरि मानवीय क्षति पुर्‍याएको छ। शनिबार राति भरतपुर महानगरपालिका–२३ मा घरमै रहेका आमा र चार वर्षीय छोरामाथि आक्रमण गर्दा दुवैको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटे रहेका छन्। स्थानीयका अनुसार राति जंगलबाट बस्तीमा पसेको ध्रुवेले घरमै आक्रमण गरेको थियो। आक्रमणका क्रममा हात्ती धपाउन आशिकाका श्रीमानले आगो बाल्ने प्रयास गर्दा घरसमेत जलेर नष्ट भएको छ।

भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जंगली हात्तीको आक्रमणबाट आमाछोराको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन्। घटनापछि ध्रुवे पुनः चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्र तर्फ फर्किएको जनाइएको छ।

यस घटनासँगै ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। यसअघि वि.सं. २०७४ मा नेपाली सेनाका एक मेजरको ज्यान लिएपछि ध्रुवेबाट यति ठूलो मानवीय क्षति भएको थिएन।

ध्रुवे चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने जंगली हात्तीका रूपमा परिचित छ। वि.सं. २०६६ देखि मानिसमाथि आक्रमण गर्न थालेको ध्रुवेले २०६९ सम्म मात्रै १५ जनाको ज्यान लिएको थियो। त्यसबेला यसको आतंक विशेषगरी चितवनको माडी क्षेत्रमा अत्यधिक बढेपछि प्रशासनले हात्तीलाई मार्ने निर्णयसमेत गरेको थियो।

ध्रुवेलाई नियन्त्रण गर्न नेपाली सेनाले लामो समयसम्म प्रयास गरेको थियो। रेडियो कलर जडान गर्ने, दाह्रा काट्ने तथा बेहोस बनाएर उत्तेजना कम गर्ने औषधिसमेत प्रयोग गरिए पनि हात्ती पूर्ण रूपमा नियन्त्रणमा आउन सकेन। केही वर्ष बेपत्ता रहेपछि ध्रुवे पुनः सुखीभार क्षेत्रमा देखिन थालेको थियो।

हाल निकुञ्ज प्रशासनले घटनाबारे थप अनुसन्धान गरिरहेको छ भने बस्ती आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय