काठमाडौं,२१ असार । मनसुन सक्रिय भए पनि निरन्तर र पर्याप्त वर्षा नहुँदा देशभर धान रोपाइँको गति सुस्त बनेको छ। कृषि विभागका अनुसार हालसम्म देशभर कुल खेतीयोग्य धान क्षेत्रफलको करिब २५ प्रतिशतमा मात्र रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको यही अवधिको तुलनामा उल्लेखनीय रूपमा कम हो।
विभागका अनुसार करिब १३ लाख ७० हजार हेक्टर धान खेती हुने क्षेत्रमध्ये हालसम्म ३ लाख ४१ हजार हेक्टरमा मात्रै रोपाइँ भएको छ। गत वर्ष यही अवधिमा ६ लाख २३ हजार हेक्टरभन्दा बढी क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको थियो।
अनियमित मनसुन र लामो सुख्खा अवधिका कारण धेरै जिल्लामा किसानले समयमै खेतमा पानी जुटाउन नसक्दा रोपाइँ प्रभावित भएको कृषि विभागले जनाएको छ। पर्याप्त वर्षा नभएसम्म विशेषगरी तराई र मधेसका जिल्लामा रोपाइँले गति लिन नसक्ने कृषि विज्ञहरूको भनाइ छ।
कृषि अधिकारीहरूले मनसुन नियमित भएसँगै आगामी केही साताभित्र रोपाइँको गति बढ्ने अपेक्षा गरेका छन्। धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले समयमै रोपाइँ हुन नसके उत्पादनमा समेत असर पर्ने चिन्ता व्यक्त गरिएको छ।




