बीरगन्ज,२१ असार । वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पुगेका पर्साका एक युवकको मृत्यु भएको तीन महिना बितिसक्दा पनि उनको पार्थिव शरीर नेपाल ल्याउन नसकिएको भन्दै परिवारले सरकारसँग तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ।
पर्सागढी नगरपालिका–७ बागेश्वरीका २९ वर्षीय राकेश पटेलको अस्ट्रेलियामा मृत्यु भएको पुष्टि भए पनि शव नेपाल ल्याउने प्रक्रिया अझै अघि बढ्न नसकेको परिवारले जनाएको छ। मृतकका बुबा बिर्जा राउत कुर्मीका अनुसार छोराको मृत्युबारे चैत २२ गते इन्टरपोलमार्फत जानकारी प्राप्त भएको थियो, त्यसपछि परिवारले परराष्ट्र मन्त्रालयमा समेत पहल गरेको थियो।
परिवारका अनुसार मन्त्रालयबाट प्रारम्भिक रूपमा राकेशको मृत्यु आत्महत्याका कारण भएको जानकारी दिइएको छ। उनीसँग अन्तिम पटक चैत २० गते साँझ करिब ४ बजे कुराकानी भएको परिवारले जनाएको छ, जसैपछि उनको मृत्यु भएको अनुमान गरिएको छ।
करिब दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका राकेश पछि अस्ट्रेलिया पुगेका थिए। पछिल्लो समय उनले नियमित तलब नपाएको गुनासो गर्दै आएको परिवारको भनाइ छ। साथै, उनले अस्ट्रेलियामा घर तथा गाडी खरिद गरेको जानकारी पनि परिवारलाई दिएका थिए।
तीन महिनासम्म पनि शव स्वदेश ल्याउन नसकिएको भन्दै शोकमा रहेको परिवारले मृत्युको वास्तविक कारणबारे स्पष्ट विवरण सार्वजनिक गर्न र आवश्यक कूटनीतिक प्रक्रिया छिटो अघि बढाउन सरकारसँग आग्रह गरेको छ।




