spot_img

विश्वकप लिग–२ शृंखलाका लागि नेपाली क्रिकेट टोलीलाई बिदाइ, जर्सीमा अभ्यासपछि नेदरल्यान्ड्समा प्रतिस्पर्धा

spot_img
spot_img

काठमाडौं,२१ असार । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार औपचारिक रूपमा बिदाइ गरेको छ। नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी हुने शृंखला जुलाई २१ देखि सुरु हुनेछ।

प्रतियोगिताअघि नेपाली टोलीले जर्सीमा प्रशिक्षण क्याम्प सञ्चालन गर्नुका साथै दुई अभ्यास एकदिवसीय खेल खेल्नेछ। क्यानका अनुसार नेपालले जुलाई १३ र १५ मा अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ। लिग–२ अघि युरोपको मौसम र पिचको अवस्था बुझ्न जर्सीमा तयारी गरिएको हो।

बिदाइ कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीले गत वर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्‍याउने विश्वास व्यक्त गरे। उनले लिग–२ का बाँकी खेलहरू नेपालको विश्वकप यात्राका लागि अत्यन्त महत्वपूर्ण रहेको भन्दै खेलाडीलाई आत्मविश्वासका साथ खेल्न शुभकामना दिए।

टोलीका कप्तान रोहित पौडेलले तयारी सन्तोषजनक रहेको बताए। उनले पछिल्लो एक सातादेखि टोलीले विशेषगरी फिटनेस र खेल योजनामा ध्यान दिएको उल्लेख गर्दै लिग–२ को प्रत्येक खेल नेपालका लागि महत्वपूर्ण भएकाले उत्कृष्ट नतिजा ल्याउने लक्ष्य रहेको बताए।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीलाई अनावश्यक दबाब नलिई आफ्नो स्वाभाविक खेल प्रदर्शन गर्न आग्रह गर्दै सफल यात्राको शुभकामना दिए।

नेपालले केही साताअघि घरेलु मैदानमा सम्पन्न दुई लिग–२ शृंखलामा आठमध्ये छ खेल जित्दै अंकतालिकामा उल्लेखनीय सुधार गरेको थियो। त्यसैको लयलाई निरन्तरता दिने लक्ष्यसहित नेपाली टोली युरोप भ्रमणमा निस्किएको हो।

यस शृंखलाका लागि टोलीको व्यवस्थापकमा क्यानका सदस्य श्रीधर केसी नियुक्त भएका छन्। यता मुख्य प्रशिक्षक स्टुअर्ट ल भने पासपोर्ट नवीकरणसम्बन्धी प्रक्रियाका कारण केही दिनपछि टोलीसँग जोडिने क्यानले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय