spot_img

मौद्रिक नीति कसिलो बनाउन आवश्यक छैन : पूर्वगभर्नर अधिकारी

spot_img
spot_img

काठमाडौं,२१ असार । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति कसिलो बनाउनुको आवश्यकता नरहेको भन्दै लचिलो र विस्तारमुखी नीति ल्याउनुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उनले वर्तमान आर्थिक सूचकहरू अपेक्षाकृत सकारात्मक रहेकाले कडाइ गर्ने नीति उपयुक्त नहुने धारणा राखे।

उनका अनुसार अहिले मूल्यस्थिति स्थिर छ भने बाह्य क्षेत्र पनि सन्तुलित अवस्थामा रहेको छ। “हालको परिस्थितिमा मौद्रिक नीति लचिलो र विस्तारकारी हुनु स्वाभाविक हो। नीतिगत दर वा ब्याजदर करिडोर थप कसिलो बनाउने आवश्यकता देखिँदैन,” उनले भने।

पूर्वगभर्नर अधिकारीले मौद्रिक नीति प्राविधिक र अनुमानयोग्य हुनुपर्नेमा जोड दिँदै अहिलेको आर्थिक आधारले सहज नीति अपनाउन सहयोग गर्ने बताए। उनले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै सुरक्षित र मजबुत रहेको दाबी पनि गरे।

तर उनले नियम खुकुलो बनाउँदै प्रणालीलाई जोखिममा पार्न नहुने चेतावनी पनि दिए। क्षणिक लाभका लागि नियमन कमजोर बनाउँदा दीर्घकालीन असर पर्ने उनको भनाइ थियो।

अधिकारीले राष्ट्र बैंकले केवल मौद्रिक व्यवस्थापन मात्र नभई उत्पादनमुखी अर्थतन्त्र निर्माणतर्फ पनि ध्यान दिनुपर्ने उल्लेख गरे। ऊर्जा, कृषि र साना तथा मझौला उद्यममा निश्चित प्रतिशत लगानी अनिवार्य गर्ने नीतिले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन मद्दत गर्ने उनको तर्क थियो।

उनका अनुसार बजारमा पर्याप्त तरलता र घट्दो ब्याजदर भए पनि कर्जाको माग अपेक्षित रूपमा बढ्न सकेको छैन। साथै, उनले नेपाल राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप नगर्न संसद र सम्बन्धित निकायलाई आग्रह गरे।

“केन्द्रीय बैंक जति स्वायत्त हुन्छ, त्यति नै अर्थतन्त्र मजबुत हुन्छ,” उनले भने, “संसदीय समितिबाट आउने सुझावहरू निर्देशन होइन, मार्गदर्शनका रूपमा आउनु उपयुक्त हुन्छ।”

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय