spot_img

स्थानीय अवरोधपछि बीरगन्ज सडक विस्तार फेरि रोकियो

spot_img
spot_img

बीरगन्ज,२१ असार । स्थानीयको अवरोधपछि रोकिएको बीरगन्ज मुख्य सडक विस्तार अभियान आइतबार पनि सुचारु हुन सकेको छैन। शुक्रबार साँझदेखि स्थगित गरिएको सडक सीमा अतिक्रमण हटाउने कार्य अझै सुरु नहुँदा परियोजना अन्योलमा परेको छ।

सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजमार्गअन्तर्गत बीरगन्जको मुख्य सडक क्षेत्रमा सडक सीमाभित्र बनेका घर तथा संरचना हटाउने अभियान सुरु गरेको थियो। तर बहुअरी क्षेत्रमा पुगेपछि स्थानीयले विरोध जनाउँदै डोजर सञ्चालनमा अवरोध गरेपछि काम रोकिएको हो।

विवाद समाधानका लागि शनिबार सरोकारवाला निकायको बैठक बोलाइएको भए पनि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल उपस्थित हुन नसकेपछि छलफल हुन सकेन। अब बैठक सोमबार कार्यालय खुलेपछि गर्ने तयारी गरिएको छ।

सडक डिभिजन कार्यालय हेटौंडाका इन्जिनियर तथा बीरगन्जका फोकल पर्सन दुर्गा प्रसादका अनुसार डोजर, चालक तथा प्राविधिक टोली तयारी अवस्थामा राखिएको छ। उनले विवाद समाधान नगरी काम गर्दा पुनः समस्या दोहोरिन सक्ने भएकाले केही समय छलफलको प्रतीक्षा गरिएको बताए।

उनका अनुसार सडक विस्तार कार्य कुनै पनि हालतमा रोकिँदैन र आवश्यक समन्वयपछि अभियान पुनः अघि बढाइनेछ।

यसअघि पनि स्थानीयसँग समन्वय अभाव र महानगरपालिकासँग समन्वय नहुँदा काम प्रभावित हुँदै आएको थियो। सडक डिभिजनले असार ५ मा महानगरलाई पत्राचार गर्दै सिरसिया–मितेरी पुलदेखि बहुअरी–गण्डक चोकसम्म २५–२५ मिटरभित्रका संरचना हटाउन अनुरोध गरेको थियो।

गत वैशाखमा पहिलो चरणमा करिब १,२०० घर तथा संरचनामा आंशिक रूपमा डोजर चलाइएको थियो। त्यसपछि बाँकी संरचना हटाउन २५ दिनको समय दिइए पनि धेरै संरचना यथावत् रहेपछि दोस्रो चरणको अभियान सुरु गरिएको थियो।

तर स्थानीय विरोधका कारण हाल पुनः रोकिएको अभियान अब सरोकारवाला बैठकपछि मात्रै अगाडि बढ्ने देखिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय