काठमाडौं,२१ असार । पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न विपद्जन्य घटनामा परी ७ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा कुल ४७ वटा विपद् घटना दर्ता भएका छन्, जसले ३७ जिल्ला प्रभावित पारेका छन्।
मृतकमध्ये सबैभन्दा धेरै सर्पदंशका कारण ३ जनाको ज्यान गएको छ। त्यस्तै, बाढी, भारी वर्षा र पहिरोका घटनामा एक–एक जनाको मृत्यु भएको छ भने जनावरको आक्रमणमा २ जनाले ज्यान गुमाएका छन्।
प्राधिकरणका अनुसार बाढीका ४, भारी वर्षाका ५, पहिरोका ११, सर्पदंशका १६, चट्याङका ४, वन डढेलोका ५ तथा जनावर आक्रमणका २ घटना भएका छन्।
यस अवधिमा विपद् प्रभावित क्षेत्रमा सडक अवरोधका ६ वटा घटना पनि दर्ता भएका छन्। उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ भने हालसम्म २६३ जना सुरक्षाकर्मी विभिन्न स्थानमा खटाइएको प्राधिकरणले जनाएको छ।
प्रारम्भिक अनुमानअनुसार विपद्का घटनाबाट करिब १९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।




