spot_img

प्रेस स्वतन्त्रता कुण्ठित हुँदैन, सरकार संवादका लागि सधैं तयार छ : सञ्चारमन्त्री तिमिल्सिना

spot_img
spot_img

काठमाडौं,२१ असार । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालमा प्रेस स्वतन्त्रता संविधानले सुनिश्चित गरेको अधिकार भएकाले त्यसको हनन कसैले पनि गर्न नसक्ने बताएका छन्। उनले सरकार प्रेस स्वतन्त्रता संकुचन गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै सञ्चार क्षेत्रसँग सहकार्य र संवादमार्फत अघि बढ्न प्रतिबद्ध रहेको बताए।

नेपाल पत्रकार महासंघले आइतबार ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता : सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले लोकतन्त्रको आधारस्तम्भ नै स्वतन्त्र प्रेस भएको उल्लेख गरे। उनले सरकारले प्रेस स्वतन्त्रताको महत्व पूर्ण रूपमा बुझेको र त्यसलाई कमजोर बनाउने कुनै उद्देश्य नरहेको बताए।

उनले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको भन्ने आशंकाप्रति पत्रकारहरूलाई चिन्तित नहुन आग्रह गर्दै कुनै कानुनी वा नीतिगत विषयमा असहमति भए संवाद र छलफलमार्फत समाधान खोज्न सकिने धारणा राखे।

मन्त्री तिमिल्सिनाले एउटै विषयलाई फरक–फरक दृष्टिकोणबाट व्याख्या गरिन सक्ने भन्दै कुनै पक्षले प्रेस स्वतन्त्रताको हनन भएको ठान्न सक्ने र अर्को पक्षले त्यसलाई सामान्य कानुनी प्रक्रिया मान्न सक्ने अवस्था रहने बताए। यस्ता विषयमा विवाद बढाउनु भन्दा संवाद गर्नु उपयुक्त हुने उनको भनाइ थियो।

उनले सरकार सधैं जिम्मेवार हुनुपर्नेमा जोड दिँदै यदि सरकारबाट कुनै कमजोरी वा गैरजिम्मेवारी भएको महसुस भए त्यसबारे प्रश्न उठाउनु पत्रकारको अधिकार मात्र नभई प्रमुख दायित्व पनि भएको बताए।

मन्त्री तिमिल्सिनाले स्वतन्त्र, जिम्मेवार र उत्तरदायी पत्रकारिताले लोकतन्त्रलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सरकार र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय