spot_img

संवेदनशील विषयमा सरकारका मन्त्री ‘लफङ्गो’ शैलीमा बोलिरहेका छन् : गगन थापा

spot_img
spot_img

काठमाडौं,२१ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारका मन्त्रीहरूले संवेदनशील राष्ट्रिय मुद्दामा गैरजिम्मेवार र असंगत अभिव्यक्ति दिइरहेको आरोप लगाएका छन्। उनले यस्ता अभिव्यक्तिले राजनीतिक अन्योल सिर्जना गर्नुका साथै संविधानले सम्बोधन गरेका संवेदनशील विषयमा अनावश्यक विवाद निम्त्याउन सक्ने चेतावनी दिएका हुन्।

आइतबार सरकारको सय दिनको कार्यसम्पादनबारे कांग्रेसद्वारा आयोजित समीक्षा कार्यक्रममा बोल्दै थापाले प्रदेशको नाम, भाषा, समावेशिता र अधिकारजस्ता विषयमा सरकारका मन्त्रीहरूबीच नै फरक–फरक धारणा सार्वजनिक हुनु गम्भीर चिन्ताको विषय भएको बताए।

उनले सरकार सञ्चालन गर्ने दलका नेताहरूले संवेदनशील विषयमा एकीकृत धारणा प्रस्तुत गर्न नसकेको आरोप लगाउँदै कसैले एउटा कुरा गर्ने, अर्काले त्यसको खण्डन गर्ने र अर्कोले फेरि नयाँ व्याख्या गर्ने प्रवृत्तिले सरकारको विश्वसनीयतामै प्रश्न उठाएको बताए।

थापाले संविधान संशोधन आवश्यक रहेको स्वीकार गर्दै त्यसका लागि पर्याप्त गृहकार्य, संवाद र राजनीतिक सहमति अपरिहार्य हुने धारणा राखे। हचुवाका भरमा वा भावनात्मक रूपमा यस्ता विषय उठाउँदा समाजमा अनावश्यक तनाव र विवाद उत्पन्न हुन सक्ने उनको भनाइ थियो।

उनले अधिकार, भाषा, पहिचान र समावेशिताजस्ता विषय नेपाली समाजका अत्यन्त संवेदनशील मुद्दा भएकाले यिनलाई हल्का रूपमा प्रस्तुत गर्नु उचित नहुने बताए। यस्ता विषयमा सरकारका जिम्मेवार पदाधिकारीले थप गम्भीर, संयमित र उत्तरदायी भएर अभिव्यक्ति दिनुपर्नेमा उनले जोड दिए।

सभापति थापाले विविधतायुक्त नेपाली समाजको भावनालाई सम्मान गर्दै संविधानका मूल मर्म र संवेदनशीलतालाई ध्यानमा राखेर मात्रै सरकार अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय