काठमाडौं,२१ असार । वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र रोजगारीको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उनीहरूले आयरल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै सात जना पीडितबाट कुल ३९ लाख रुपैयाँ असुलेको आरोप लागेको छ।
पक्राउ पर्नेमा काभ्रे घर भई काठमाडौं महानगरपालिका–६ बस्दै आएका ३८ वर्षीय सरोज पन्त र रामेछाप घर भई टोखा नगरपालिका–३ बस्दै आएका २२ वर्षीय अनिल खत्री रहेका छन्।
प्रहरीका अनुसार सरोज पन्तले एक जना पीडितलाई आयरल्यान्ड पठाइदिने आश्वासन दिएर १६ लाख रुपैयाँ लिएका थिए। यस्तै, अनिल खत्रीले यूएई पठाइदिने भन्दै छ जना पीडितबाट २३ लाख रुपैयाँ उठाएपछि सम्पर्कविहीन भएको उजुरी परेको थियो।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले अनुसन्धान अघि बढाउँदै सरोजलाई काठमाडौं महानगरपालिका–८ र अनिललाई टोखा नगरपालिका–६ बाट पक्राउ गरेको हो।
प्रहरीले दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ। प्रहरीले वैदेशिक रोजगारीका लागि रकम बुझाउँदा सम्बन्धित म्यानपावर कम्पनी र सरकारी निकायको आधिकारिक जानकारी तथा प्रक्रिया अनिवार्य रूपमा बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ।




