spot_img

सरकार संविधान र गणतन्त्रमाथि प्रहार गर्न खोज्दैछ, सचेत हुने बेला आएको छ : प्रचण्ड

spot_img
spot_img

काठमाडौं,२१ असार । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्ने दिशामा अघि बढिरहेको आरोप लगाएका छन्।

उनले संविधानले सुनिश्चित गरेका विभिन्न समुदायका अधिकार कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्दै त्यसप्रति सचेत र संगठित हुन कार्यकर्तालाई आह्वान गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित पार्टीको उपत्यका प्रदेश समिति कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार सुशासन र विकासभन्दा पनि संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र तथा महिला, दलित, आदिवासी–जनजातिलगायत समुदायले प्राप्त गरेका अधिकारलाई कमजोर बनाउने उद्देश्यसहित अघि बढिरहेको आरोप लगाए।

उनले सरकारले सुकुमवासी बस्ती हटाउने, विद्यार्थी संगठन र ट्रेड युनियनका अधिकारमा हस्तक्षेप गर्ने तथा राष्ट्रिय हितसँग जोडिएका विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिने काम गरेको दाबी गर्दै यस्ता विषयमा आफूले संसदमा थप सशक्त रूपमा आवाज उठाउने बताए।

प्रचण्डले वर्तमान परिस्थितिलाई गम्भीर रूपमा लिन आग्रह गर्दै लोकतान्त्रिक उपलब्धिको रक्षा गर्न सबै प्रगतिशील शक्ति एकजुट हुनुपर्ने धारणा व्यक्त गरे। उनले कार्यकर्तालाई अब निष्क्रिय भएर बस्ने अवस्था नरहेको भन्दै संगठित भएर अघि बढ्न आह्वान गरे।

भाषणका क्रममा उनले आफ्नै राजनीतिक यात्राको समीक्षा गर्दै विगतमा वर्ग संघर्ष, वैचारिक स्पष्टता र दीर्घकालीन रणनीतिलाई पर्याप्त महत्व नदिनु कम्युनिस्ट आन्दोलनको कमजोरी भएको स्वीकार गरे। त्यसको मुख्य जिम्मेवारी आफूले पनि लिने उल्लेख गर्दै उनले विगतका कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताए।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय