डोल्पा,२१ असार । डोल्पाको जगदुल्ला गाउँपालिकाबाट जुम्लातर्फ जाँदै गरेको एक जिप आइतबार दुर्घटनामा परेको छ। दुर्घटना डोल्पा–जुम्ला सीमास्थित मौरेलेक क्षेत्रमा भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। उद्धार तथा घटनाको अवस्थाबारे जानकारी संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मानवीय क्षति वा घाइतेको अवस्था सम्बन्धी विस्तृत विवरण भने अझै सार्वजनिक भएको छैन। प्रहरीका अनुसार घटनास्थलबाट थप सूचना प्राप्त भएपछि दुर्घटनाको कारण र क्षतिको यथार्थ विवरण सार्वजनिक गरिनेछ।




