वीरगन्ज,२१ असार । पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित दुर्गा हल नजिक निर्माणाधीन घरमा आइतबार भएको दुर्घटनामा एक मजदुरको मृत्यु भएको छ।
प्रहरीका अनुसार घरको सेन्टरिङ (शटरिङ) हटाउने क्रममा अचानक पर्खाल भत्किँदा बाराको विश्रामपुर गाउँपालिका–कल्याणपुर निवासी ३० वर्षीय सुवास पटेल गम्भीर घाइते भएका थिए।
दुर्घटनापछि स्थानीय र प्रहरीको सहयोगमा उनलाई तत्काल उपचारका लागि भवानी अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको जनाएको छ। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेकाले आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार दुर्घटनासम्बन्धी थप विवरण संकलन भइरहेको छ भने निर्माणस्थलमा सुरक्षा मापदण्ड पालना भए–नभएको विषयमा समेत अनुसन्धान अघि बढाइएको छ।




