बीरगन्ज,२१ असार । मधेस प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै जाँदा बजारमा यसको मूल्य उल्लेखनीय रूपमा बढेको छ। उपभोक्ताले महँगो मूल्य तिर्नुपरे पनि किसानले भने उत्पादनको उचित मूल्य नपाएको गुनासो गरेका छन्।
बजारमा दुई साताअघिसम्म रु १०० मा करिब साढे दुई केजी बिक्री भइरहेको मालदह आँप अहिले प्रतिकेजी नै रु १०० सम्म पुगेको छ। बगैँचामा मालदह आँप सकिन थालेपछि व्यापारीहरूले मूल्य बढाए पनि त्यसको प्रत्यक्ष लाभ किसानसम्म नपुगेको कृषकहरूको भनाइ छ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का किसान उमेश यादवले किसानबाट कम मूल्यमा खरिद गरिएको आँप बजारमा धेरै महँगोमा बिक्री भइरहेको बताउँदै मूल्य निर्धारणमा पारदर्शिता र प्रभावकारी बजार अनुगमन आवश्यक रहेको बताए।
यस्तै, मिथिला नगरपालिकाका कृषक धनिकलाल महतोले असार १५ पछि धान रोपाइँ सुरु हुने भएकाले किसानहरू आँप छिट्टै बिक्री गर्न बाध्य हुने र व्यापारीहरूले यही अवस्थाको फाइदा उठाएर न्यून मूल्यमा खरिद गर्ने गरेको बताए।
किसानहरूले शीतभण्डार, आँप प्रशोधन उद्योग तथा व्यवस्थित बजार प्रणालीको अभावका कारण उत्पादनको उचित मूल्य नपाइरहेको भन्दै सरकारले भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा प्रभावकारी नीति ल्याउनुपर्ने माग गरेका छन्।
व्यापारीहरूका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिइसकेको छ भने मालदह आँप पनि करिब १० दिनसम्म मात्र उपलब्ध हुनेछ। त्यसपछि बजारमा कलकत्तिया र आम्रपाली जातका आँपको बिक्री सुरु हुने अपेक्षा गरिएको छ।




