जनकपुरधाम,२१ असार । उच्च अदालत जनकपुरले न्याय सम्पादनमा उल्लेखनीय प्रगति गर्दै दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्योट गरेको छ। अदालतले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार दुई वर्ष नाघेका मुद्दाको संख्या अहिले शून्यमा झरेको छ।
अदालतका अनुसार हाल १८ महिनादेखि दुई वर्षभित्रका १३ वटा र एक वर्षदेखि डेढ वर्षभित्रका ३८७ वटा मुद्दा मात्रै विचाराधीन छन्।
चालु आर्थिक वर्ष २०८२/८३ को असार १९ गतेसम्म उच्च अदालत जनकपुरले ४ हजार ३३० वटा मुद्दा फर्छ्योट गरेको छ। यस अवधिमा ४ हजार १६१ वटा नयाँ मुद्दा दर्ता भएका थिए भने २ हजार २६७ वटा अघिल्लो वर्षबाट जिम्मेवारी सरिआएका मुद्दा थिए।
अदालतका रजिस्ट्रार विश्वजंग सिजापतिका अनुसार नयाँ र पुराना गरी कुल २ हजार ९८ वटा मुद्दा अझै फर्छ्योट हुन बाँकी छन्। सरिआएका मुद्दामध्ये २ हजार ४७ वटा टुंगो लगाइएको छ भने २२० वटा बाँकी छन्। त्यसैगरी, नयाँ दर्ता भएका मुद्दामध्ये २ हजार २८३ वटा फर्छ्योट भइसकेका छन् भने १ हजार ८७८ वटा विचाराधीन छन्।
उच्च अदालतले चालु आर्थिक वर्षका लागि ४ हजार ५४६ वटा मुद्दा फर्छ्योट गर्ने लक्ष्य लिएको थियो। असार १९ गतेसम्म ४ हजार ३३० वटा मुद्दा टुंग्याउँदै लक्ष्यको ९५.८४ प्रतिशत प्रगति हासिल गरेको अदालतले जनाएको छ।
मुद्दा फर्छ्योटको विवरणअनुसार कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर सबैभन्दा बढी १ हजार ३१० वटा मुद्दा टुंग्याउँदै अग्रस्थानमा रहेका छन्। त्यसपछि न्यायाधीश टीकाराम आचार्यले १ हजार ११५, जगदीश घिमिरेले ९४६, राजुराम सिलवालले ८९६, कृष्णप्रसाद सुवेदीले ८४६, कैलाशप्रसाद सुवेदीले ८२६, फुर्फा तामाङले ७२३, मुरारीबाबु श्रेष्ठले ६८४, कमलप्रसाद पोखरेलले ६५९ र श्यामकुमार भट्टराईले ५७८ वटा मुद्दा फर्छ्योट गरेका छन्।
अदालतले पुराना मुद्दा शून्यमा झार्न सफल हुनु न्याय सम्पादनलाई छिटो, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।




