spot_img

असार लागेपछि मधेसमा खर्चको रफ्तार, २० दिनमै ३ अर्ब ३२ करोड निकासा

spot_img
spot_img

जनकपुरधाम,२१ असार । आर्थिक वर्षको अन्तिम महिना सुरु भएसँगै मधेस प्रदेश सरकारको बजेट खर्चले तीव्र गति लिएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असार २० गतेसम्म मात्रै प्रदेश सरकारले ३ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ, जुन कुल बजेट खर्चको २८.३० प्रतिशत हो।

तथ्यांकअनुसार चालु आर्थिक वर्षमा असार २० गतेसम्म प्रदेश सरकारले १३ अर्ब २९ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ। जेठ मसान्तसम्म यो खर्च ९ अर्ब ९७ करोड रुपैयाँ (२१.२४ प्रतिशत) मात्र रहेको थियो। अर्थात् आर्थिक वर्षको अन्तिम २० दिनमै खर्चमा उल्लेखनीय वृद्धि भएको देखिएको छ।

खर्चको विवरणअनुसार चालुतर्फ ६ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ (४३.२० प्रतिशत) र पुँजीगततर्फ ६ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ (२०.९६ प्रतिशत) बजेट खर्च भएको छ। जेठ मसान्तसम्म चालु खर्च ३६.२२ प्रतिशत र पुँजीगत खर्च १३.७६ प्रतिशत मात्रै थियो।

मन्त्रालयगत खर्चमा अर्थ मन्त्रालय सबैभन्दा अगाडि रहेको छ। यस मन्त्रालयले आफ्नो बजेटको ५३.७१ प्रतिशत खर्च गरेको छ। त्यसपछि वन तथा वातावरण मन्त्रालयले ४६.३८ प्रतिशत र श्रम तथा यातायात मन्त्रालयले ३८.९७ प्रतिशत बजेट खर्च गरेका छन्।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३६.२९ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३१.२९ प्रतिशत, भौतिक पूर्वाधार विकास मन्त्रालयले २८.७९ प्रतिशत, गृह, सञ्चार तथा कानुन मन्त्रालयले २८.५६ प्रतिशत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २८.३६ प्रतिशत र शिक्षा तथा संस्कृति मन्त्रालयले २६.४७ प्रतिशत बजेट खर्च गरेका छन्। ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको खर्च १९.६० प्रतिशत रहँदा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय सबैभन्दा कम ११.०२ प्रतिशत खर्चसहित अन्तिम स्थानमा रहेको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी निरेन्द्रलाल कर्णका अनुसार असार २५ गतेसम्म विभिन्न योजना तथा कार्यक्रमको भुक्तानी प्रक्रिया जारी रहने भएकाले कुल खर्चको प्रतिशत अझ बढ्ने सम्भावना रहेको छ।

यद्यपि, आर्थिक वर्षको अन्त्यतिर हुने तीव्र बजेट खर्चको प्रवृत्तिलाई सार्वजनिक वित्त व्यवस्थापनका जानकारहरूले ‘असारे खर्च’को रूपमा व्याख्या गर्दै यसले विकास आयोजनाको गुणस्तर, पारदर्शिता र बजेट कार्यान्वयनको प्रभावकारितामाथि प्रश्न उठाउने गरेको बताएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय