वीरगञ्ज, २१ असार – वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पुगेका पर्साका एक युवाको मृत्यु भएको तीन महिना बितिसक्दा पनि उनको पार्थिव शरीर नेपाल ल्याउन नसकिएको भन्दै परिवारले सरकारसँग तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेको छ।
पर्साको पर्सागढी नगरपालिका–७, बागेश्वरी निवासी २९ वर्षीय राकेश पटेलको करिब तीन महिनाअघि अस्ट्रेलियामा मृत्यु भएको थियो। परिवारका अनुसार प्रारम्भिक रूपमा उनको मृत्यु आत्महत्याबाट भएको जानकारी प्राप्त भए पनि घटनाको वास्तविक कारणबारे अझै स्पष्ट विवरण उपलब्ध हुन सकेको छैन।
मृतकका बुबा बिर्जा राउत कुर्मीले आर्थिक अभावका कारण छोराको शव हालसम्म नेपाल ल्याउन नसकिएको बताए। शव स्वदेश ल्याउन नसक्दा छोराको काजक्रिया समेत गर्न नसकेको भन्दै उनले दुःख व्यक्त गरे।
उनका अनुसार चैत २२ गते इन्टरपोल मार्फत छोराको मृत्यु भएको जानकारी प्राप्त भएको थियो। त्यसपछि परिवारले नेपालको परराष्ट्र मन्त्रालय पुगेर आवश्यक जानकारी लिएको थियो। मन्त्रालयबाट राकेशले आत्महत्या गरेको प्रारम्भिक जानकारी दिइए पनि हालसम्म शव नेपाल ल्याउने प्रक्रिया पूरा हुन नसकेको उनको गुनासो छ।
बिर्जा राउत कुर्मीका अनुसार चैत २० गते साँझ करिब ४ बजे छोरासँग अन्तिम पटक कुराकानी भएको थियो। सोही दिन उनको मृत्यु भएको अनुमान गरिएको छ।
राकेश करिब दुई वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। त्यसपछि उनी अस्ट्रेलिया पुगेका थिए। परिवारका अनुसार पछिल्लो करिब छ महिनादेखि उनले नियमित तलब नपाएको गुनासो गर्दै आएका थिए। साथै, अस्ट्रेलियामा घर र गाडी खरिद गरेको जानकारी पनि उनले परिवारलाई दिएका थिए।
परिवारले राकेशको मृत्युको वास्तविक कारणबारे निष्पक्ष छानबिन गरी स्पष्ट जानकारी उपलब्ध गराउन तथा पार्थिव शरीर यथाशीघ्र नेपाल ल्याइदिन सरकारसँग माग गरेको छ। शोकमा रहेको परिवारले ढिलाइ नगरी आवश्यक कूटनीतिक तथा कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
यसैबीच, पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानु ले बिहीबार प्रतिनिधिसभा बैठकमा राकेश पटेलको मृत्युको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद कानुले वैदेशिक रोजगारीका क्रममा अस्ट्रेलियामा रहेका पटेलको मृत्यु भएको लामो समय बितिसक्दा पनि शव स्वदेश ल्याउन नसकिएको भन्दै परराष्ट्र मन्त्रालयलाई आवश्यक पहल गर्न आग्रह गरे। उनले राकेश पटेलको मृत्यु सम्बन्धी विवरण वैशाख २३ गते नै परराष्ट्र मन्त्रालयमा दर्ता गराइसकिएको भए पनि हालसम्म पार्थिव शरीर नेपाल ल्याउने प्रक्रिया पूरा नभएको उल्लेख गर्दै सरकारलाई तत्काल आवश्यक कूटनीतिक तथा कानुनी प्रक्रिया अघि बढाउन माग गरेका छन्।




