काठमाडौं,२३ असार – डलासको अत्यधिक गर्मी मौसमबीच सोमबार राति पोर्चुगिज फुटबलका महानायक क्रिस्टियानो रोनाल्डोको प्रतिष्ठित विश्वकप खेल जीवनको अन्त्य भएको छ । अन्तिम १६ को खेलमा स्पेनसँग १–० ले पराजित भएसँगै ४१ वर्षीय रोनाल्डोले इतिहासकै सबैभन्दा ठूलो मञ्चबाट आँसुसहित बिदा लिएका हुन् ।
खेल सकिएलगत्तै भावुक बनेका पोर्चुगिज कप्तान रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप भएको औपचारिक पुष्टि गरे । डलास स्टेडियमको चारैतिर हेर्दै, दर्शकलाई ताली बजाएर धन्यवाद दिँदै र हातमा क्याप्टेनको आर्मब्यान्ड समातेर चेन्जिङ रुमतरफ जाँदै गर्दा रोनाल्डोका आँखा रसाएका थिए । उनले पत्रकारसँग भने, “यसरी विश्वकपबाट बाहिरिनु पर्दा म निकै दुःखी छु । मैले आफ्नो तर्फबाट सबैथोक दिएँ, उत्कृष्ट प्रयास गरेँ र अब म सफा मन लिएर मैदानबाट निस्किँदै छु । यो मेरो अन्तिम विश्वकप थियो, तर म अन्तर्राष्ट्रिय फुटबलबाटै संन्यास लिनेबारे अहिल्यै कुनै हतारोमा निर्णय गर्ने छैन ।”
आफ्नो खेल जीवनमा विश्वकपको सुनौलो ट्रफी उचाल्न नपाए पनि रोनाल्डोले फुटबल इतिहासमै विरलै खेलाडीले पाउने गौरवमय कीर्तिमानहरू आफ्नो नाममा लेखाइसकेका छन् । जारी विश्वकपको समूह चरणमा उज्वेकिस्तानविरुद्ध ५–० को जितमा दुई गोल गर्दै उनी लगातार ६ वटा फरक विश्वकप ९२००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६० मा गोल गर्ने विश्वकै एक मात्र खेलाडी बनेका थिए ।
पोर्चुगलका लागि सबैभन्दा धेरै २७ विश्वकप खेल खेलेका रोनाल्डोले देशका लागि ११ गोल गरे । यसै संस्करणमा क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत गोल गर्दै उनी ४१ वर्ष १४७ दिनको उमेरमा विश्वकपको नकआउट चरणमा गोल गर्ने इतिहासकै सबैभन्दा पाको खेलाडी बनेका थिए । समग्र विश्वकप इतिहासमा भने उनी क्यामरुनका रोजर मिला ९४२ वर्ष ३९ दिन० पछिका दोस्रो पाको गोलकर्ता हुन् ।
चिरपरिचित प्रतिद्वन्द्वी लियोनेल मेसीसँगको तुलनामा रोनाल्डोले ६ वटै विश्वकप संस्करणमा गोल गर्ने दुर्लभ कीर्तिमान आफ्नो पक्षमा राखेका छन्, जुन मेसीले सन् २०१० को विश्वकपमा गोल गर्न नसक्दा गुमाएका थिए । यद्यपि, मेसीको ३० विश्वकप खेल र १९ गोलको कीर्तिमान भने रोनाल्डोको भन्दा अगाडि छ ।
रोनाल्डोको बिदाइसँगै पोर्चुगिज टोलीका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले स्पेनविरुद्धको यो हारलाई टोलीको एउटा स्वर्णिम युगको अन्त्य भनेका छन् । रोनाल्डोले साउदी प्रो लिगमा अल–नास्रबाट आफ्नो व्यावसायिक क्लब फुटबललाई भने निरन्तरता दिने अपेक्षा गरिएको छ ।




